Logo

सात वर्षमा टुंगियो काँठेखोला गाउँपालिका केन्द्र विवाद

स्थान विवादका कारण अन्योलमा रहेको काठेखोला गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने पक्का भएको छ । सात वर्षदेखि कायम विवाद अन्त्य गर्दै कार्यापालिकको बैठकले सामबोटमा भवन निर्माण गर्ने निर्णय गरेको हो । प्रशासनिक भवन निर्माणका लागि तय गरिएको सामबोट गाउँपालिकाको वडा नं. ६ मा पर्दछ । पालिकाले हाल वडा नंं. ६ कै सुलडाँडाबाट दैनिक प्रशासनिक कार्य गरिरहेको छ ।

विवाद सुल्झिएपछि कार्यपालिका बैठकको निर्णय १३औं गाउँसभाबाट पारितसमेत भइसकेको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । “विगत ६ वर्षदेखि अन्योलग्रस्त भवन निर्माणको विषय अब टुंगोमा पुर्‍याएका छौं,” अध्यक्ष थापाले भने, “नयाँ आर्थिक वर्ष सुरु हुनासाथ भवन निर्माणको कामको थालनी गरिने छ ।” थापाले भवन निर्माणमा सहयोग गर्न पालिकाबासीसँग अनुरोधसमेत गरेका छन् ।

“धेरै लामो कसरतपछि स्थान विवाद टुंग्याएर अगाडि बढेका छौं,” अध्यक्ष थापाले भने, “अब भवन निर्माणका लागी तत्काल प्रकृया अगाडि बढाउने तयारीमा छौ ।’ भवन निर्माणका लागि एक करोड रुपैयाँ बजेटसमेत विनियोजन भइसकेको छ । यस अगाडि पालिकका १ देखि ४ सम्मका वडाले अक्षते बजारमा तथा ५ देखि ८ सम्मका वडाले हाल पालिका रहेकै स्थान सुलडाँडामै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए ।

मध्यपहाडी लोकमार्गसँगै जोडिएको अक्षते वडा नं. २ मा पर्दछ । हाल पालिकाको कार्यालय रहेको स्थानबाट १५ मिनेटको दूरीमा पर्ने अक्षेत नयाँ बजारको रूपमा विकसित हुँदैछ । विवाद समाधानका लागि पालिकास्तरीय अस्पताल, प्रहरी चौकी अक्षते बजारमा बनाउने तथा सुलडाँडामा बहुउद्देश्य सभाहल तथा आयुर्वेदिक अस्पताल बनाउने गरी सहमति गरिएको छ । अहिले पालिकको कार्यालय सुलडाँडामा भाडाको घरबाट सञ्चालित छ ।

मासिक ६० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिइएको घर कार्यालय सञ्चालनका लागि साँघुरो भएको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताए । “विगत ६ वर्षदेखि हामी घर भाडामा लिएर प्रशासनिक गरिरहेका छौं,” प्रमुख गौतमले भने, “भवनमा कोठाको कमी भएपछि पालिकामा केही शाखा नजिकैको भीमसेन प्राविको भवनबाट सञ्चालन गरेका छौं ।” जसका कारण सेवाग्राहीलाई केही झण्झटसमेत हुने गरेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्