Logo

चेपाङ मार्गमा पुल शिलान्यास

मलेखु–भण्डारा सडकलाई चेपाङ मार्ग नामाकरण गरिएको छ । यो धादिङ जिल्लाको मलेखु माछा बजार, ताल्ती, धादिङ र चितवन जिल्लाको सिमाना एवं ऐतिहासिकस्थल कान्द्राङगढी हुँदै भण्डारामा पुग्छ । धादिङपट्टि पृथ्वी राजमार्गबाट छुटेर र चितवनतर्फ महेन्द्र राजमार्गमा जोडिन्छ । यो सडकको आसपास चेपाङको बाहुल्य छ । त्यसकारण पनि मलेखु–भण्डारा सडकको नामाकरण चेपाङ मार्ग गरिएको हो ।

यो सडक बहुदल आएपछि २०५० सालबाट धादिङतर्फबाट खन्न सुरु गरिएको हो । सडक खन्न सुरु गर्दा कामका लागि खाद्यान्नबाट सुरु गरिएको थियो । सडक सुरु गर्ने ठाउँका मानिससँग चामल आफ्नो उत्पादनबाट पर्याप्त हुने भएकाले कामका लागि नगदमा परिणत गर्दा एक लाख रुपैयाँ ल्याएर वितरण गरिएको थियो । एक सय क्विन्टल चामलबाट सुरु गरिएको सडक अहिले चेपाङ मार्गका रूपमा इतिहास बोकेको छ तत्कालीन जिल्ला विकास सदस्य चूडामणि कँडेलले बताए ।

यस सडक निर्माण गर्न पहिलो कम्युनिष्ट प्राधानमन्त्री मनमोहन अधिकारीले अघि सारेको ‘आफ्नो गाउँ आफै बनाऊँ’ भनेर पठाएको तीन लाख हालियो । त्यसपछि जिल्ला विकास समिति, नेपाल सरकार र विश्व बैंकको समेत लगानी निर्माण निरन्तर भइरह्यो । अहिले बागमती प्रदेश सरकारको बजेटबाट पुल बन्दै छ कँडेलले थपे । गजुरी गाँउपालिका–२ स्थित तुदीखोलामा पक्की मोटरेबल पुल शिलान्यास गर्दै सांसद राजेन्द्रप्रसाद पाण्डेले पुल निर्माण सम्पन्न पश्चात यस भेगका मानिस पृथ्वी राजर्मागसँग सहज पहुँच राख्नेछन् ।

अब ताल्तीस्थित मलेखु खोलामा मोटरबेल पुल बनाएपछि भण्डारासम्म सहज आवतजावत हुन्छ । यो सडक अन्तर्राष्ट्रियस्तरको बन्दै छ । छिमेकी राष्ट्र भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गमा ठोरी कान्द्राङगढी गल्छी केरुङ सडकको स्तरोन्नति गरिने छ माननीय पाण्डेले बताए । बागमती प्रदेश सरकारले आव २०७९/०८० मा पुल निर्माण गर्न विनियोजन गरेको बजेटबाट भद्रकाली निर्माण सेवाले चार करोड ४४ लाख ९६ हजार ३८३ रुपैयाँमा २०८१ असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरी निर्माण कार्य सुरु गरिसकेको छ ।

मलेखुदेखि भण्डारासम्मको सडक स्तरोन्नतिका लागि विश्व बैंकले विस्तृत परियोजना प्रतिवेदन बनाइसकेको छ । मलेखु कान्द्राङगढी २३ किलोमिटर र कान्द्राङगढीदेखि भण्डारा ४६ किलोमिटर गरी ६९ किलोमिटर रहेको छ । यदि विश्व बैंकले यो सडक स्तरोन्नतिमा काम गर्‍यो भने मलेखुबाट सुरुङ बनाउने र १६ किलोमिटर दूरी घटी मलेखु–भण्डारा ५३ किमि हुुनेछ । यस क्षेत्रमा गरिबीसँग लडिरहेका चेपाङलगायका जातीको आर्थिक समृद्धिमा कोशेढुंगा सावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्