Logo

‘सर्लाही घटनामा संसदीय छानबिन समिति गठन नगरे संसद् अवरुद्ध’

राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको भन्दै उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलाप रहेको दाबी गरे ।
उनले भने, “हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाइरहेका छौं । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन । समिति गठन नगरे हामी सदन अवरुद्ध गर्छौं ।” संयोजक यादवले तत्काल संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको अडान कायमै रहेको सुनाए ।

महाधिवेशन निर्धारित मितिमै हुन्छ
फरक प्रसंगमा यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उनले भने, “हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौं । हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ ।”
आफूले महाधिवेशनको मुखमा पार्टी नेतृत्वको जिम्मेवारी पाएकोले महाधिवेशनको वातावरण निर्माण गरेर सफल तुल्याउने मुख्य काम रहेको पनि यादवले बताए । उनले भने, “पार्टीको आन्तरिक संगठन सवलीकरण र मजवुत पार्दै अघि बढ्नुपर्छ । नीति तथा सिद्धान्तलाई लागू गर्नुपर्छ ।” आफ्नो पार्टी तेस्रो ठूलो शक्तिको रुपमा संसदमा रहेकोले सोहीअनुसार सार्थक र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको पनि यादवले सुनाए ।

सरकार मनोमानी रुपले चलेको छ
यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेको आरोप लगाए । उनले भने, “यो सरकारले लोकतन्त्रलाई संकुचित गर्दै अघि बढेको छ । संसदभित्र विपक्षीको भूमिकालाई अझै मजबुत बनाउनुपर्छ । यसको लागि हामीले कांग्रेससँग कार्यगत एकता गरेका छौं ।” लोकतन्त्रको सवालमा, जनताको जनजीविकाको सवालमा, शान्ति र सुशासनको सवालमा, सुशासनको सवालमा कांग्रेससँग एक ठाउँमा रहने पनि उनले जनाए ।
पूर्वमन्त्री समेत रहेका नेता यादवले राजपा सशक्त वैकल्पिक शक्ति निर्माण गर्ने तयारीमा आफूहरु लागेको पनि सुनाए । राजनीतिक, सैद्धान्तिक र वैचारिक रुपमा मिलन हुने शक्तिहरुसँग मोर्चाबन्दी हुनेपनि यादवले जनाए । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाललगायतका साना दलहरुसँग पनि एकताको लागि कुराकानी भैरहेको यादवको भनाइ छ । यद्यपि, मिडियामा हल्ला भएजस्तो समाजवादी पार्टीसँग एकताबारे औपचारिक वार्ता तथा सहमति नभएको पनि यादवले जिकिर गरे ।
उनले भने, “दुवैतर्फ वार्ता कमिटी बनाइएका छन् । तर, औपचारिक वार्ता अहिलेसम्म भएको छैन । हाम्रो पार्टी अब महाधिवेशन गर्नतिर केन्द्रित छ । त्यही अनुसार कार्यक्रम ल्याउँदैछ । हामी समयमै महाधिवेशन गर्छौ । सफल हुन्छौं ।”

सरकारले अवसरको सदुपयोग गरेन
वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहेको पनि त्यसलाई सदुपयोग गर्न नसकेको यादवको आरोप छ । उनले भने, “यो सरकारसँग देश र जनताको पक्षमा काम गर्ने ऐतिहासिक अवसर थियो । डिपार्चरको काम गर्नुपर्दथ्यो । तर, सरकारले विश्वास जगाउन सकेन ।” ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको उनको दाबी छ । उनले थपे, “सबै मोर्चामा यो सरकार असफल छ ।”
सरकारले अहिलेसम्म निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारवाही गर्न नसकेको यादवको आरोप छ । उनले भने, ”हत्यारा पत्ता लगाउनु त परै जाओस्, सरकारको तर्फबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आइरहेका छन् । अहिले महिलाहरुको अस्मितामाथि खेलबाड भैरहेको छ । सरकार मुलुकमा शान्ति, अमनचयन कायम गर्न पूर्ण रुपमा असफल भैसकेको छ ।” सरकार दिनहुँ काण्डै काण्डमा फसेको पनि यादवको आरोप छ ।

संविधान अपुरो छ
संविधान अपुरो र अधुरो रहेकोले यसलाई पूर्ण बनाउनको लागि संशोधन गर्नुपर्ने माग आफूहरुले उठाउँदै आएको यादवको भनाइ छ । उनले भने, “संशोधनमार्फत् संविधानलाई पूर्णता बनाउनुपर्छ । अहिलेसम्म हामीले सदनभित्र यो आवाज उठाउँदै आएका छौं । अब पनि सरकार जिम्मेवार भएन भने हामी आन्दोलन घोषणा गरेर जान पनि बाध्य हुन्छौं ।”
यादवले प्रदेश नम्बर २ को सरकारमा आफ्नो पार्टी पनि सहभागी रहेकोले सरकारको काम प्रभावकारी हुनुपर्छ भनेर आफूहरुले समिक्षा गरिरहेको सुनाए । उनले भने, “सरकार बनेदेखि अहिलेसम्मको सरकारको कामको पुनर्मूल्यांकन गर्नुपर्छ भनेका छौं । अनिमात्रै हामी निर्णय लिन्छौं ।” जनपक्षीय काम भएको छ कि छैन भनेर आफूहरुले समीक्षा गर्ने पनि यादवले जनाए । तर, अहिले नै मन्त्रीहरु हटाउने वा नहटाउने भन्नेबारे कुनै निर्णय नभएको यादवको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्