सहरी विकास मन्त्रालयमा कार्यसम्पादन सम्झौता «

सहरी विकास मन्त्रालयमा कार्यसम्पादन सम्झौता

सहरी विकास मन्त्रालयले मातहतका विभाग तथा आयोजनासँग कार्यसम्पादन सम्झौता गरेको छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमा सचिव रमेशप्रसाद सिंहले सहरी विकास तथा भवन निर्माण विभाग, सहरी विकास महाशाखा, काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सुधार आयोजना, नगर विकास कोष र मन्त्रालयकै प्रशासन महाशाखाका प्रमुखहरूसँग आइतबार मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणीराम गेलाल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद दवाडी, प्राधिकरणको जिल्ला आयुक्त दिलिप भण्डारी, बागमती सुधार आयोजना प्रमुख आशिष घिमिरे, नगर विकास कोषका अध्यक्ष मणिराम महत, सहरी विकास महाशाखा प्रमुख सरिता मास्केसँग सचिव सिंहले छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सुशासन ऐन २०६४ अनुसार सरकारी कामलाई चुस्त दुरुस्त बनाई कार्यसम्पादन प्रभावकारी बनाउन हरेक मन्त्रालयले मातहतका विभाग तथा महाशाखाका प्रमुखसँग यस्तो सम्झौता गर्ने व्यवस्था छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले कार्यसम्पादन सम्झौताअनुसार जिम्मेवार बोध भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले आफ्नो पदीय जिम्मेवारीबाट पन्छिन खोज्ने कर्मचारीलाई समेत अख्तियार दुरूपयोगमा कारवाही गरिने नयाँ व्यवस्था हुन लागेको बतए । उनले अव नतिजामूखी भएर काम नगरे कारवाहीको भागीदार हुनुपर्ने चेतावनी दिए ।
कार्यसम्पादन सम्झौताले मन्त्रालयको कामलाई छिटो छरितो सम्पन गर्न सहयोग पुग्ने भन्दै मन्त्री राईले कुनै पनि नीतिगत समस्या भए आफूलाई जानकारी गराउन मातहतका कर्मचारीलाई आग्रह गरे । सुशासन ऐनले आफूले पाएको जिम्मेवारी छिटो भन्दो छिटो कार्यान्वयनमा लैजाने दायित्व दिएकाले कार्यसम्पादनमा हुने ढिलासुस्तीलाई समेत मन्त्रालयले सुक्ष्म रूपमा मूल्यांकन गर्ने मन्त्री राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्