Logo

ठेकेदारले नटेर्दा सिडीओ गुहार्दै पालिका

फाइल तस्बिर ।

ठेकेदारले भेरी करिडोरअन्तर्गत डोल्पाको दुनै–ल्यासिक्याप सडक निर्माणमा ध्यान नदिएको भन्दै काइके गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी (सिडीओ)सँग सहयोग मागेको छ । सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले काम नगर्दा आफूहरू हैरान भएको भन्दै गाउँपालिकाका अध्यक्ष अंगद रानाले सिडीओलाई पत्र लेखी सहयोग गरिदिन आग्रह गरेका हुन् ।

दुनैसम्म सडक सञ्जाल जोडिए पनि त्योभन्दा माथि जान समस्या भएको भन्दै अध्यक्ष रानाले तत्काल काम सुरु गर्न निर्माण व्यवसायीलाई पत्र लेखेको भए पनि निर्माण व्यवसायीले अटेरी गरेको उनले बताए । २०८९ मंसिर २९ गतेदेखि पूर्णरूपमा बाटो बन्द भएको भन्दै तत्काल काममा फर्केर सडक निर्माण सुचारु गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

उक्त सडक निर्माणको जिम्मेवारी सूर्य–श्रेया–शान्ति देवी जेभी काठमाडौंले लिएको छ । जेभीले २०७८ चैत १७ गते सम्झौता गरेर २०८२ पुस १६ गते निर्माण कार्य पूरा गर्ने सहमति रहेको सडक डिभिजन चौरजहारीका प्रमुख आसुतोष कर्णले बताए । १३ करोड ४२ लाखमा उक्त ठेक्का जेभीले लिएको छ । यो सडकमा चट्टान फोर्नका लागि विस्फोट गराउनुपर्ने अवस्था छ ।

गाउँपालिकाले सडक निर्माण कार्य तत्काल सुरु गराउनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्रसमेत लेखेको छ । ”तीनवटा डोजर सडक निर्माण गर्न भन्दै राखेको मात्र छ, काम गर्दैन एक वर्ष भइसक्यो,” गाउँपालिका अध्यक्ष रानाले भने । २५ किलोमिटर सडक निर्माण गर्नका लागि भएको ठेक्काको काम अहिलेसम्म दुई किलोमिटर पनि निर्माण भएको छैन ।

उपल्लो डोल्पाका तीनवटा पालिकालाई जोडने मुख्य सडक यही हो । काइके, डोल्पोबुद्ध र छार्काताङसुङ गाउँपालिकामा जाने मुख्य बाटो नै यही भएकाले पनि समस्या भएको हो । निर्माणका सामग्रीदेखि दैनिक उपभोग्य सामग्री लिन र ल्याउन बाटो नहुँदा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

निर्माण व्यवसायी ध्रुव शाहीले गाउँपालिकाले भन्नेबित्तिकै बाटो खनिहाल्ने काम हुँदैन नि ? हाम्रो आफ्नै तरिकाको काम हुन्छ भन्दै गाउँपालिकाले भनेको नमान्ने बताए । उनीहरूको सजिलोका लागि हामीले काम गर्ने हो र ? हामीले आफ्नो अनुकूलतामा पो काम गर्ने हो नि ? भन्दै गाउँपालिकाले निउँ खोजे काम नै नगर्ने बताए ।

गाउँपालिकाका अध्यक्षले सिण्डिकेट गर्न खोजेको भन्दै निर्माण व्यवसायी शाहीले आफू त्यो स्वीकार नगर्ने बताए । लासिक्यापभन्दा माथिको बाटो खन्नका लागि ठेक्का गर्नुपर्ने भएकाले आफूलाई ताकेता गरिरहेको भन्दै शाहीले ठेक्का जेसुकै होस् मलाई मतलब भएन, म काम नै गर्दिन उनले भने । उत्ता सडक डिभिजन चौरजहारीका प्रमुख आसुतोष कर्णले सडक निर्माण गर्दा थोरै केही ढिला भएको बताए ।

उनका अनुसार एक वर्षमा सात किलोमिटर सडक खन्नुपर्नेमा त्यो नभएको बताए । अहिले भेरी करिडोर सडक डिभिजन चौरजहारीबाट छुट्याएर अलग बनाएर काम गर्न लागिएको छ । जाजरकोटमा सम्पर्क कार्यालय र डोल्पामा कार्यालय स्थापना गर्न खोजिए पनि कार्यालय प्रमुख नहुँदा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्