Logo

४७ वटा खानेपानी तथा सिँचाइ योजना निर्माण हुँदै

खानेपानी तथा सिँचाइको पहुँचमा नपुगेका जाजरकोटका सातवटा स्थानीय तहमा ४७ वटा नयाँ खानेपानीका योजना निर्माण कार्य भइरहेका छन् । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र संघीय सरकारले विनियोजित रकमबाट उक्त योजना निर्माण हुन लागेका हुन् ।

६ वटा सिँचाइ योजना र १७ वटा खानेपानीका योजना निर्माण कार्य जारी रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । त्यस्तै अघिल्लो वर्ष अधुरा रहेका १२ वटा सिँचाइ योजनासमेत यसै आर्थिक वर्षमा पूरा हुन लागेका छन् । तात्कालीन मन्त्री गणेशप्रसाद सिंहले अधुरा योजना पूरा गर्ने गरी बजेट विनियोजन गरी काम थालेपछि पुराना १२ वटा योजनासमेत यसै आर्थिक वर्षमा पूरा हुन लागेका हुन् ।

त्यस्तै १७ वटा अघिल्ला वर्षका अधुरा योजना यसै आर्थिक वर्षमा पूरा हुन लागेको कार्यालय प्रमुख शाहीले बताए । अघिल्लो वर्षको अधुरा योजना पूरा भएमा अधिकांश ठाउँमा सिँचाइ तथा खानेपानीको सुविधा पुग्ने प्रमुख शाहीले बताए । यो आर्थिक वर्षमा समेत तात्कालीनमन्त्री सिंहले सम्भाव्यता अध्ययनका लागि भन्दै मन्त्रीस्तरीय निर्णय गरी प्रत्येक पालिकाबाट एक सयभन्दा बढी योजना पठाएको थियो ।

उक्त योजनाको अहिले सम्भाव्यता अध्ययन गरी आउँदो बजेटमा समेट्न लागिएको छ । केही योजना पालिकाले समेत आफैं निर्माण गरिरहेका छन् । भेरी बेसिन सिँचाइका योजनासमेत सम्भाव्यता अध्ययनकै अवस्थामा रहेको बताइएको छ । ४० भन्दा बढी संघीय सरकारबाट प्राप्त योजनासमेत जाजरकोटमा चालू अवस्थामा छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लामा अब महत्व र दीर्घकालीन समस्या टार्ने खालका योजनाको काम भइरहेको बताए ।

समय फेरिँदै जाँदा हाम्रा आवश्यकता समेत बदलिँदै गएको भन्दै मन्त्री बस्नेतले जिल्लाको विकासका लागि पहिलो सर्त खानेपानी, सिँचाइ र सडक भएको बताए । विद्युतीकरणलाई समेत ध्यान दिएर लागेको उनको भनाइ छ । भेरी किनारमा विद्युतको सहायताले पानी तानेर सिँचाइ गर्ने योजना रहेको र केही ठाउँमा त्यो कामको सुरुवात भइसकेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्