Logo

अचार बिक्री नभएपछि समस्या

गुल्मीमा आफूले उत्पादन गरेको अचार बिक्री नभए पछि अचार उद्यमी महिला चिन्तित बनेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अचार बनाउने तालिम दिएपछि गत वर्षदेखि अचार उत्पादनमा लागेका महिला अहिले अचार बिक्री नभएपछि समस्यामा परेका हुन् ।

गाउँपालिकाको वडा नम्बर १ बलिथुमकी सरस्वती गौतम र निशा पौडेल गौतमले दिदीबहिनी अर्गानिक अचार नामले दर्ता गरेर गत वर्षदेखि अचार उत्पादनमा लागेका छन् । उनीहरूले तालिम लिएपछि २०७८ कात्तिकमा अचार उद्योग खोलेका थिए । उनीहरूले कागती, अमला, लसुन, मेथी, मिश्रण, आँप, तिते करेला र गाउँभरमा पाइने सबै अचार बन्ने वस्तुको अचार बनाउँदै आएका छन् । उनीहरूको पाँच सयभन्दा बढी बट्टा अचार बिक्री नभएपछि हाल उत्पादन रोकिएको छ ।

दुई दिदीबहिनी मिलेर तीन लाखमा अचार उद्योग खोले पनि यसबाट आम्दानी भने हुन सकेको छैन । बजारीकरणको ग्यारेण्टी भएमा अचार उत्पादनलाई बढाउँदै लैजाने गौतम दिदीबहिनीको सोंच छ । “तालिमपछि व्यावसायिक बन्ने हाम्रो लक्ष्य हो,” सरस्वती गौतमले भनिन्, “अचार बिक्री नभएर चिन्तित हुनुपरेको छ ।” गुल्मीदरबार गाउँपालिकाले गत वर्ष महिलालाई आत्मनिर्भर बनाउनका लागि अचार बनाउने तालिम प्रदान गरेको थियो ।

त्यही तालिमपछि गौतम दिदीबहिनी अचारको व्यावसायिक उत्पादनमा लागेका हुन् । उनीहरूले हाल प्रतिबट्टा १५० मा बिक्री गर्दै आइरहेका छन् । अचारको बजार ग्यारेण्टी भएमा आफूहरू आत्मनिर्भर बन्नुका साथै रोजगारी सिर्जना पनि गर्न सकिने गौतम दिदीबहिनीको भनाइ छ । अचार बिक्री नभएको गुनासोपछि गुल्मीदरबार गाउँपालिकाले गौतम दिदीबहिनीसँग समन्वय गरिरहेको छ ।

औपचारिक कार्यक्रममा अचार ल्याएर बिक्री गर्ने वातावरण बनाउन गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले समन्वय गरेकी छन् । घरेलु उत्पादनको अचार मिठो र स्वादिलो मान्ने तर बिक्रीमा भने समस्या भइरहेको गौतम दिदीबहिनीको गुनासो छ । कोशेली घरमार्फत् आफ्ना उत्पादनको बजारीकरण सुनिश्चित हुनुपर्ने गौतम दिदीबहिनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्