प्रदेश र स्थानीय सरकारबीच बजेट छलफल

सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणको विषयमा छलफल भएको छ ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयको आयोजनामा सोमबार र मंगलबार धनगढी स्थानीय सरकारसँंग छलफल भएको हो । प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुअघि स्थानीय सरकारको आवश्यकता पहिचान गर्न र बजेटको प्राथमिकता निर्धारण गर्न छलफल गरिएको आर्थिक मामिलामन्त्री नरेश शाहीले बताए ।
उनले प्रदेश सरकारले आगामी वर्षका लागि बजेट निर्माणको प्रक्रिया सुरु भइसकेको बताउँदै नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा प्रदेशभित्रका सबै स्थानीय तह, क्षेत्र र समुदायका सरोकारवालाबाट पनि सुझाव लिने बताए । हरेक वर्ष बजेट टुक्रे रूपमा आउने र प्रदेश सरकारको बजेट स्थानीय तहको आवश्यकताभन्दा फरक रूपमा आउने भएकाले यसपालि मन्त्रालयले स्थानीय तहको सुझाव लिएको बताए ।
स्थानीय सरकारसँंगको छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आउने वर्षको बजेट कुनै पनि दबाब र प्रलोभनमा परी योजना छनोट नभई स्थानीय तहहरूले गरेको सिफारिसको आधारमा मात्रै योजनामा बजेट विनियोजन हुने बताए । उनले यसपालि प्रदेश सरकारले कार्यान्वयन हुनसक्ने र ठूला योजनामा मात्रै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । छलफलमा नौवटै जिल्लाका ८८ पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृको सहभागिता थियो ।