गुल्मीदरबारको पुँजीगत खर्च ३३ प्रतिशत

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले दोस्रो चौमासिक समीक्षा गरेको छ । आर्थिक वर्ष २०७९/०८० यो यस अवधिसम्म भएका सम्पूर्ण गतिविधिको सार्वजनिकसँगै समीक्षा गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद पाण्डेले हालसम्म गाउँपालिका भएका गरेका सम्पूर्ण गतिविधि र कार्यालयबाट हुने सेवा प्रवाहसम्बन्धी जानकारी गराएका थिए । गाउँपालिकाको कुल ५४ करोड ६५ लाख ५५ हजार बजेटमा २१ करोड १३ लाख ४४ हजार खर्च भएको छ । जुन ३८.६७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार जसमा चालूतर्फ १४ करोड ६० लाख ८३ हजार खर्च भएको छ । जुन बजेटको ४१.४६ प्रतिशत हो । त्यस्तै पुँजीगत बजेटतर्फ आर्थिक वर्षको आठ महिनामा ६ करोड ४८ लाख ७८ हजारमात्र खर्च भएको छ । जुन बजेटको ३३.४८ प्रतिशत हो । गाउँपालिकाको योजना तथा अनुगमन शाखाका प्रमुख टंकप्रसाद पन्थीले निर्माण सम्पन्न, निर्माणाधीन र निमार्णको प्रक्रियामा रहेका योजना प्रस्तुत गरेका थिए ।
नेपाल सरकारले सुरु गरेको ‘एक पालिका : एक अस्पताल’ कार्यक्रमअन्तर्गत यस गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण अन्तिम चरणमा छ । जसको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अस्पतालसँगै गाउँपालिकाले १५७ वटा योजना सम्पन्न गरेको छ । सूचना प्रविधिमा पनि गाउँपालिका अब्बल छ । ई–बुलेटिन प्रकाशन, वेबसाइट अध्यावधिक, सामाजिक संजाल फेसबुकमा अपटेड र स्थानीय संस्थागत मूल्यांकनमा पनि गाउँपालिका अब्बल रहेको सूचना अधिकृतसमेत रहेका पन्थीले बताए ।
स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले गाउँपालिकामा भएका स्वास्थ्यसम्बन्धी सम्पूर्ण गतिविधि प्रस्तुत गरेका थिए । उनले सेवा प्रवाहअन्तर्गत न्यूनतम सेवा मापदण्डअन्तर्गत सबै स्वास्थ्य चौकीको सुशासन, व्यवस्थापन, क्लिनिक व्यवस्थापन र समग्र स्वास्थ्य चौकीको अवस्थाबारे जानकारी गराए । पोषण कार्यक्रम, भिटामिन कार्यक्रम, मातृ तथा नवजात शिशु कार्यक्रमलगायतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ । गाउँपालिकाले शिविरमार्फत् टोलटोलमा स्वास्थ्य सेवा दिइरहेको छ ।
आर्थिक तथा सामाजिक विकास शाखाका प्रमुख नवराज घिमिरेले ६९२ व्यवसाय सञ्चालनमा रहेको, २२० बजार अनुगमन गरेको र ६३५ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । प्रगति समीक्षामा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्रप्रसाद शर्मा, लेखा शाखा प्रमुख टेकराज गिरि, रोजगार सेवा केन्द्रका रमेश खड्का, आन्तरिक राजस्व शाखाको तर्फबाट प्रकाश थापा र गाउँपालिकामा सञ्चालित हेफर प्रोजेक्ट नेपालको तर्फबाट हरिकृष्ण विकले शाखाका गतिविधिबारे जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बसाइँसराइ मुख्य समस्याको रूपमा देखापरेकोले यससम्बन्धी समीक्षा हुन जरुरी रहेको बताए । उनले निरन्तर चौमासिक समीक्षा, सार्वजनिक सुनुवाइ र अन्यमा अब्बल रहेको भन्दै प्रशंसा गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले वार्षिक नीति तथा कार्यक्रमअनुसार काम गरिरहेको बताए । नागरिकको मौलिक अधिकारअनुसार आफूले गरेका सबै गतिविधि सार्वजनिकसँगै समीक्षा गरिएको गाउँपालिका अध्यक्ष थापाको भनाइ छ ।
“गाउँपालिकाको तर्फबाट सबै गतिविधि सार्वजनिक गरेका छौं,” अध्यक्ष थापाले भने, “समीक्षामा आएका सुझावलाई समेटेर आगामी कार्यक्रम बनाइनेछ ।” अध्यक्ष थापाले भनेअनुसार काम गर्न पदमा पुगेपछि गाह्रो हुने गरेको सुनाउँदै जनताको नजिकको सरकारको अनुभूति गराउने कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन् ।