नरैनापुरलाई ६६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान

बाँकेको नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्षमा ६६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट पालिका घोषणा भएपछि नरैनापुरले उक्त अनुदान पाउने भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको टोलीले आइतबार नरैनापुरको स्थलगत निरीक्षण गरे पश्चात जनप्रतिनिधि र कर्मचारीसँग कुरा गर्दै अध्यक्ष बालानन्द पौडैलले उक्त जानकारी दिएका हुन् । उनले गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिँदै शिक्षा र स्वास्थ्यमा बजेट थप गर्न पहल गर्ने बताए । “नरैनापुरको शिक्षा र स्वास्थ्यका लागि थप बजेट अवश्यक रहेको देखिएको छ,” उनले भने, “म सम्बन्धित मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि पहल गर्नेछु ।”
अध्यक्ष पौडेलले नरैनापुरले गरेको कामको अन्य पालिकाले पनि सिको गर्न जरुरी रहेको बताए । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य विपिनराज निरौलाले संघीय सञ्चित कोषबाट तल्लो तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभारको कार्यसम्पादन मूल्यांकन रहेको बताए । उक्त मूल्यांकनमा नरैनापुर गाउँपालिकाले पाएको ७८.५२ अंकको आधारमा देशकै सबैभन्दा बढी बजेट पाएको उनको भनाइ थियो ।
उनले नरैनापुरको विकासका लागि अझ राम्रो काम गर्न सुझाव दिँदै उत्कृष्ट भएकोमा बधाईसमेत दिए । अध्यक्ष शाहले नरैनापुर गाउँपालिका उत्कृष्ट भएपछि आयोगको टोली पालिकामा आएर बधाई दिनु आफूहरूका लागि खुसीको कुरा भएको बताए । उनले नरैनापुरको शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकाले थप बजेटको व्यवस्था गरी दिन माग गरेका थिए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अथक परिश्रम र कडा मेहनतको फल देशकै उत्कृष्ट गाउँपालिकाको रूपमा दर्ज गर्न सफल भएको बताए ।
आयोगको टोलीले नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, लेखा अधिकृत भरत बस्नेत, वडा नं. ५ का सचिव भरत महतो, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाह, कृषि शाखा प्रमुख सदन भण्डारी, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी, लेखापाल प्रकाश अधिकारी, सर्भिलेन्स अफिसर विवेक पौडेल वडा सदस्यसँग छलफल गरेको थियो । आयोगको टोलीले निर्माणाधीन अवस्थामा रहेको गाँउपालिकाको भवन, अस्पताल र नेपाल भारत सीमाको अनुगमनसमेत गरेको थियो ।