वडाबाटै सबै सेवा

गुल्मीको इस्मा गाउँपालिकामा वडा तहमै गाउँपालिकाको सबै सेवा प्रवाह गरिएको छ । गाउँपालिकाले बनाएको वार्षिक नीति तथा कार्यक्रमअनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरेर गाउँपालिकाले सबै सेवा वडा तहमै प्रवाह गरेको हो ।
गाउँपालिकाले स्वास्थ्य सेवातर्फ स्वास्थ्य परीक्षण र औषधि वितरण, पशु सेवातर्फ पशुको स्वास्थ्य परीक्षण, औषधि वितरण र रेविजविरुद्धको खोप प्रदान, कृषि सेवातर्फ माटो परीक्षण, रोजगार सेवातर्फ परामर्श सेवा र आवश्यक सबै सेवा गाउँपलिकाले वडा तहमा प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिइन् ।
गाउँपालिकामा वडा नम्बर १ बाट आइतबारदेखि एकीकृत घुम्ती शिविर सञ्चालन भइरहेको छ । यो आगामी शुक्रबारसम्म सबै वडामा सञ्चालन हुनेछ । हाल वडा नम्बर १ र २ मा घुम्ती शिविर सकिएको छ । शिविरमा सेवा लिएका सेवाग्राही घरछेउमै सबै सेवा पाउँदा दंग छन् । उमेरले ९१ वर्ष पुगेका वडा नम्बर २ का गम्भीरबहादुर कुँवर घरछेउमै सबै सेवा पाएकोमा हर्षित भए ।
उनी स्वास्थ्यमा समस्या देखिएपछि गाउँमै आएको घुम्ती सेवा लिन आएका थिए । उनले गाउँमै एकैपटक धेरै सेवा लिन पाउनु नै संघीयताको वास्ताविक अर्थ रहेको बताए । “लामो समयदेखि बिरामी भएर पनि अस्पताल जान सकेको थिइन,” उनले भने, “घरछेउमै सबै उपचार पाएँ, सरकार भएको महसुस भयो ।” उनले यस्तै सेवा सधै वडामा भएमा राम्रो हुने बताउँछन् ।
सोही ठाउँनकी कमला खत्री पनि विभिन्न समस्याबाट ग्रसित थिइन् । पछिल्लो समय रेविजको त्रास बढिरहेका बेला घरमा पालिएको कुकुरलाई खोप लगाउने कुराले पिरलेको हुन्थ्यो । तर, गाउँमै आएको शिविरमा उनले कुकुरलाई रेविजविरुद्धको खोप लगाइन् । “टाढा जाँदा पैसा खर्च हुन्थ्यो,” उनले भनिन्, “गाउँमै निःशुल्क सेवा पाउँदा खुसी छु ।” राज्यको साथ आफूहरूलाई भएको उनले बताइन् ।
स्थानीय वेदबहादुर कुमाल गाउँकै पायक पर्ने ठाउँमा सेवा पाउँदा खुसीले गद्गद् छन् । उनले शिविरमा कुकुरलाई रेविजविरुद्धको खोप, माटो परीक्षण, एकल पुरुष परिचयपत्र, स्वास्थ्य परीक्षण र परामर्श सेवासमेत लिए । घरमा परेका सबै समस्याको समाधान एकैपटक शिविरमा पाएको उनले बताए । “सबै सेवा पायक परेको ठाउँमा एकैपटक पाएँ,” उनले भने, “स्थानीय सरकार भएको बल्ल अनुभूति भएको छ ।” समय समयमा यस्तो सेवा आइरहनुपर्ने उनको भनाइ छ ।
यतिमात्र होइन, शिविरमा पाँच सय बढी नागरिकले प्रत्यक्ष लाभ लिएका छन् । गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले नागरिकलाई छिटो, छरितो र सस्तो सेवाका लागि घुम्ती शिविरले राहत मिलेको बताइन् । नागरिकलाई भूगोलका कारण गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिँदा समस्या भएकाले घुम्ती शिविरमार्फत् एकैपटक सबै सेवा वडामा लगेको उपाध्यक्ष कुँवरले बताइन् ।
“स्थानीय सरकार नागरिकको नजिकको सरकार हो,” उनले भनिन्, “वडा तहमै सेवा पाउँदा नागरिकले बल्ल राज्य भएको महसुस गरेका छन् ।” उपाध्यक्ष कुँवरले एकीकृत घुम्ती शिविर समय समयमा चलाउनुपर्नेमा आफूहरू स्पष्ट रहेको बताइन् । शिविरमा सेवाग्राहीको उत्साहजनक सहभागिताले एकीकृत घुम्ती शिविर प्रभावकारी भइरहेको उनले दाबी गरिन् ।