Logo

पंखु खोला पुल निर्माणको काम अलपत्र

ठेकेदारको ढिलासुस्तीको कारण मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्याङ दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको पुल अलपत्र परेको छ । निर्माण कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिला सुस्तीले तीन वर्षदेखि पुल निर्माण अलपत्र परेको हो । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोडने १५ मिटर लामो पुल २०७५ असारमै निर्माण सम्पनन हुनुपर्ने हो । तर दुई किनारमा पिलर ठड्याएको मात्र छ ।

यो पुल निर्माणका लागि ७ असोज २०७२ मा दुई करोड २० लाखमा सिरुवा कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको पंखु खोला पुल निर्माणको काम रोकिएको छ । म्याद नाघेको वर्षौं बितेपछि सुचारु भएको पुलको काम पुःन रोकिएको हो । लिफ्ट ढलान भइसकेको र वर्षाका कारण समस्या नआए पुल निर्माणकार्य चाँडै सक्ने निर्माण कम्पनीका साइट इन्जिनियर सुशील विष्टले बताए ।

पंखु खोलामा अबुटमेन्ट र लिफ्ट ढलान गरेको तर हाल निर्माणस्थलमा निर्माण सामग्री डण्डी, गिटी, बालुवा र सिमेन्ट नदेखिएको र निर्माणकार्य रोकिएको देखिएको अनुगमनमा गएका जिसस प्रमुख सनबहादुर राईले बताए । निर्माण कम्पनी सिरुवा कन्स्ट्रक्सनको तीनपटक म्याद थप भएको छ । अन्तिम पटक २०७७/३० सम्म म्याद थप भएको थियो । तर अहिले म्याद थप भएको छैन । सार्वजनिक खरिद नियमावली १२औँ संशोधनबाट क्रमिक ठेक्कामा असार मसान्तसम्म म्याद थप गर्ने मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।

निर्माण कम्पनी सिरुवा कन्स्ट्रक्सन जेभीले म्याद थपको प्रक्रिया अगाडि बढाएको थियो । डकुमेन्ट अपुग भएको कारण अहिलेसम्म म्याद थप नभएको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय रामेछापले बताएको छ । अहिलेसम्म पुलको वित्तीय प्रगति ४० प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशत भएको छ ।

निर्माणकार्य सुस्त देखिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय रामेछापका इन्जिनियर दिपेश मुनालकर्मीले बताए । निर्माण कम्पनीलाई तत्काल आवश्यक निर्माणकार्य अगाडि बढाउनका लागि निर्माण कम्पनीलाई पत्र काटने र छिटो छरितो आवतजावत गर्ने वातावरण निर्माण गर्न लागिरहेको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले बताए । मध्यपहाडी लोकमार्गअन्तर्गत छेपे खोला र मेवा खोलाको पुल निर्माणको काम पनि अलपत्र छ ।

प्रतिक्रिया दिनुहोस्