स्मार्ट होलिडेजको अध्यक्षमा खगेन्द्र न्यौपाने

नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) सचिव खगेन्द्र न्यौपाने प्रवेश गरेका छन् । नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा अग्रणी भूमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.को अध्यक्ष बनेर न्यौपाने यस क्षेत्रमा प्रवेश गरेका हुन् ।
दुबै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष, एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक, भिनोलिभा रेस्टुरेन्टको अध्यक्षलगायत पदमा रहेर व्यवसायिक क्षेत्रमा आवद्ध भए । विभिन्न व्यवसायमा आवद्ध न्यौपाने एनआरएनए मलेशियाका पूर्वअध्यक्ष हुन् ।
न्यापानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको बताए । काठमाडौं हात्तिसारमा कार्यालय रहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि. लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आएका थिए ।
संस्थाका सञ्चालक इश्वर सापकोटाका अनुसार नेपाल बाहिर र नेपालमा समेत धेरै क्षेत्रको व्यवसायमा सफल रहेका न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगति गर्ने उद्देश्यले न्यौपानलाई प्रवेश गराइएको हो । कम्पनीको सामूहिक कारोबार यही फ्रेबुअरी १५, २०२३ देखि सञ्चालन हुनेछ भने खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशियास्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने कम्पनीका सञ्चालक बालकृष्ण खड्काले बताए ।