धान : खाद्य सुरक्षाका लागि वरदान

धानको उत्पादन राम्रो भयो भने देशको आर्थिक स्थिति माथि जान्छ र धानको उत्पादन घट्यो भने तल खस्कन्छ ।
सन्दर्भ : राष्ट्रिय धान दिवस
नेपालमा पनि संयुक्त राष्ट्रसंघले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय धान वर्ष सन् २००४ (२०६१) मनाउने सिलसिलामा कृषिक्षेत्रबाट विभिन्न प्रकारका जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गरिएको थियो । यस स्तम्भकारको विशेष पहलमा नेपाल सरकारको २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अब आइन्दा प्रत्येक वर्षको असार १५ गतेलाई ‘राष्ट्रिय धान दिवस’ का रूपमा मनाउने घोषणा पनि भएको थियो । सोहीअनुसार २०७६ साल जेठ २१ गते कृषि विभाग, हरिहर भवनमा महानिर्देशक तथा मूल समारोह समितिका अध्यक्ष सूर्यप्रसाद पौडेलको सभापतित्वमा बसेको मूल समारोह समितिको बैठकले २०७६ साल असार १५ गते, आइतबार सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, नेपालभर एवं धानको सुपर जोन, बर्दियाको राजापुर–८, धोबिनीपुरमा विशेष रूपले भव्य रूपमा मनाउने निर्णय ग¥यो । यस वर्षको नारा ‘धानखेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने निर्णय पनि गरिएको छ । संयुक्त राष्ट्रसंघको घोषणापश्चात् संसारमा प्रत्येक वर्ष निरन्तर रूपमा राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो ।
२०७६ साल वैशाख ५ देखि १० गतेसम्म काठमाडौंमा बसेको मौसमसम्बन्धी विज्ञहरूको चौधौंं दक्षिण एसियाली जलवायु दृष्टिकोण मन्च ‘सास्कोप’ र नेपालको जल तथा मौसम पूर्वानुमान शाखाले नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा नेपालको वर्षा पूर्वक्षेत्र, प्रदेश १, २, ३ र ५ मा औसतभन्दा कम र पश्चिम तथा अन्य प्रदेशमा औसत रहने ठहर गरेको छ ।
आर्थिक वर्ष ०७५-७६ अनुसार नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ८ सय किलोग्राम प्रतिहेक्टर रहेको थियो । यस आर्थिक वर्ष ०७५-७६ को गत १० महिनामा २७ अर्ब ९० करोड रुपैयाँबराबरको चामल आयात भइसकेको छ । आर्थिक वर्ष ०७४-७५ अनुसार नेपालमा १४ लाख ६९ हजार ५ सय ४५ हेक्टरमा धानखेती भई ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ५ सय ६ किलोग्राम प्रतिहेक्टर रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन १.४९ प्रतिशतले न्यून भएको थाहा हुन आएको छ । आर्थिक दृष्टिकोणले भन्ने हो भने नेपालमा धान उत्पादन १ खर्ब रुपैयाँभन्दा बढीको उत्पादन हुने गर्छ । आर्थिक वर्ष ०७३-७४ अनुसार नेपालमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ३ सय ६९ किलोग्राम प्रति हेक्टर थियो ।
द स्टाटिस्टिकल पोर्टल अनलाइनमा प्रकाशित तथ्यांकबमोजिम आर्थिक वर्ष ०७५-७६, ०७४-७५ र ०७३-७४ मा विश्वभर चामल उत्पादन क्रमशः ४ सय ८८ मिलियन टन, ४ सय ८५ मिलियन टन र ४ सय ८४ मिलियन टन उत्पादन भएको थाहा हुन आएको छ । विश्वभर सबैभन्दा बढी धान उत्पादन गर्ने ११ देशमा क्रमशः चीन, भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल, जापान र पाकिस्तान पर्छन् ।
विश्वका आधाभन्दा बढी जनसंख्याको खाद्यान्नको प्रमुख आधार नै धान हो । वास्तवमा धानले एसियालीहरूलाई एकैसाथ ल्याउन सेतुको काम गरिरहेको छ, किनकी ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपत एसियाली देशहरूमा हुने गर्छ । कुनै देशमा त धानलाई ‘सुनको दाना’ पनि भनिन्छ । धानजन्य उत्पादन प्रणाली र यससँग सम्बन्धित उत्पादनोपरान्त क्रियाकलापहरूले विकासोन्मुख देशहरूको ग्रामीण क्षेत्रहरूका १ अर्ब मानिसलाई रोजगारी दिँदै आएको छ । फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) ले सन् १९६६ मा विकास गरी सिफारिस गरेको ‘आईआर–८’ धानको जातले विश्वभर चमत्कार नै ल्यायो । विगतमा मद्रासका एक कृषकले आफ्नो जमिनमा धेरै धान फलेको देखेर जन्मिएको छोराको नाम नै आईआर–८ राखेका थिए । हरितक्रान्ती नआएको भए हाल विद्यमान चामलको परिमाण (४ सय ६० मिलियन मेट्रिक टन) उत्पादन गर्न संसारको धानखेती गर्ने जमिन नै दोब्बर गर्नुपर्ने हुन्थ्यो, जुन कुरा सम्भव नै छैन र वनजंगल पनि हालको भन्दा आधा क्षेत्रफलमा मात्र रहने थियो । संसारभर धानको महŒव झल्काउन, संयुक्त राष्ट्रसंघले सन् १९६६ लाई भोकमरी विरुद्धको नारासहित वर्षको बाली, सन् २००४ लाई धान नै जीवन हो भन्ने नारासहित अन्तर्राष्ट्रिय धान वर्ष भनी घोषणासमेत गरेको थियो र यस लेखकको अथक प्रयासपछि नेपाल सरकारले प्रत्येक वर्षको असार १५ गतेलाई राष्ट्रिय धानबाली वर्ष भनी मनाउने गरेको छ । फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी), सन् १९६० मा स्थापना भएको थियो र सन् २०१० मा ५० वर्ष पूरा गरेकाले धानखेती गर्ने देशहरूमा स्वर्णजयन्ती मनाइएको थियो । नेपालको धानबाली अनुसन्धान र विकासमा इरीले पु¥याएको सहयोगलाई मध्यनजर राखी हामीले पनि धानबालीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेका थियौं । कृषकप्रिय जातमध्ये पहाडमा चाइनुङ–२४२, छोमरोङ, माछापुच्छ«े–३, चन्दननाथ–३ र तराईमा राधा–४, राधा–१२ र सावित्री तथा चैते धान, तराई र भित्री मधेसमा बिन्देश्वरी, सी.एच.–४५, चैते–२, चैते–४, चैते–६, हर्दिनाथ–१, चैते–५ (मसिनो) आदि पर्छन् । बीसवर्षे दीर्घकालीन कृषि योजना (एपीपी) ले धानलाई विशेष प्राथमिकतामा राखेको थियो । अब नेपालमा चैते, भदैया, वर्षे, हिउँदे (बोरोे) गरी वर्षैभरि धानखेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ ।
झापा अथवा मोरङ एउटा जिल्लाको धानको क्षेत्रफल र उत्पादन नेपालको अन्य २२ वटा पहाडी जिल्लाहरूको धानको क्षेत्रफल र उत्पादन भन्दा पनि बढी हुने गर्छ । त्यसैले झापा अथवा मोरङको धानखेती बिग्रनु र अरू पहाडी एक जिल्लाको धानखेती बिग्रनु भन्नाले आकाश–जमिनको फरक देखाउँछ । ७५ जिल्लामध्ये झापा सबैभन्दा बढी धान क्षेत्रका साथै उत्पादन दिने जिल्ला पनि हो । संसारको सबैभन्दा उच् चस्थानमा धानखेती हुने जिल्ला जुम्ला हो । त्यस्तै गरी नेपालमा सबैभन्दा कम क्षेत्रमा धानखेती हुने जिल्ला डोल्पा हो ।
धानले विश्वभर पु¥याइरहेको देनलाई मध्यनजर राखी एसिया र संसारभर यस बालीले मूल्य एवं मान्यता पाउनैपर्ने हुन्छ । ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत एसियाली देशहरूमै हुने गरेको छ । नेपालमा पनि हामीले धानबालीलाई के कस्तो प्राथमिकता दिएको छौं, सोको मूल्यांकन गर्ने मौका पनि यही हो ।
धानको बीउ छान्ने वैज्ञानिक तरिका
गुणस्तरीय बीउले मात्र पनि १५ देखि २० प्रतिशतसम्म उत्पादन बढाउन सकिन्छ । वैज्ञानिक तरिकाले धानको बीउ छान्न कुनै भाँडोमा राखिएको पानीमा ताजा कुखुराको फुल राखेमा तल पींधमा गएर फुल बस्छ र राम्रो बीउ छान्नका लागि त्यो फुलले भाँडोको पानीको सतहलाई छोएको हुनुपर्छ । पींधको फुललाई पानीको सतहमा माथि लान खाने नुन अथवा युरिया मल हालेर घोल बनाउन सकिन्छ । यसरी तयार भएको घोलमा धानहरू हालिदियो भने राम्रा–राम्रा पोटिला, हृष्टपुष्ट धानका बीउहरू तल पींधमा जान्छ र नराम्रा, फोस्रो, पोगटे, रोग–कीराले आक्रमण गरी कम तौल भएका धानहरू पानीको सतह र बीचतिरै तैरिन्छन् र यस्ता नराम्रा तैरिएका धानलाई कपडाले छानेर हटाउने र पींधमा तल बसेका राम्रा–राम्रा पोटिला बीउलाई नर्सरी ब्याडमा प्रयोग गर्ने । जापानमा सबै कृषकले यस प्रकारले धानको बीउ छान्ने गर्छन र हामीले जहाँ पनि जुन सिजनमा पनि धानको ब्याडमा बीउ छर्दा यस प्रकारले छान्नुपर्छ । अझ सजिलो तरिकाले भन्ने हो भने १ लिटर पानीमा २ सय ग्राम खाने नुन अथवा २ सय २५ ग्राम युरिया मल प्रयोग गरी घोल बनाएर धानको बीउ एक मिनेटभित्रै छान्न सकिन्छ । एउटै घोलमा चार–पाँच पटक धानको बीउ छान्न सकिन्छ । यसरी तल, पींधका छानेको बीउलाई तुरुन्तै साधारण पानीले दुई–तीन पटक धुनु पनि पर्छ, नत्र नुनको असरले गर्दा बीउ बिग्रन जान्छ । नुन, पानीको घोललाई गाई, भैंसीको कुँडो बनाउँदा उपयोग गर्न सकिन्छ ।
चैते धान खेती गरी उत्पादन सहजै बढाउन सकिने
धान नेपालका लागि एक प्रमुख खाद्यान्न बाली हो । आर्थिक देनका हिसाबले लिने हो भने नेपालमा करिब १ खर्ब रुपैयाँजतिको धान उत्पादन हुने गर्छ । धानको उत्पादन राम्रो भयो भने देशको आर्थिक स्थिति माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक स्थिति तल खस्कन्छ । त्यसैले धानबालीको अनुसन्धान र विकास कार्यक्रमलाई देशले प्राथमिकता दिनु अति जरुरी छ । यी तथ्यांकमध्ये चैते धानको मात्र खेती गरिने क्षेत्र, उत्पादन र उत्पादकत्व अलग्गै उल्लेख भएको पाइँदैन । बढ्दो जनसंख्या र घट्दो खेतीयोग्य जमिनबाट उत्पादन र उत्पादकत्व बढाउन चैते धानका नयाँ जात र खेती गर्ने तौरतरिकाले ठूलो भूमिका खेल्न सक्छ । चैते धानलाई वसन्ते धान पनि भन्न सकिन्छ । माघ–फागुनमा बीउ राखी चैतमा रोपाइँ गरिन्छ र ठाउँअनुसार असार–साउनतिर धान काटिन्छ । तराई तथा भित्री मधेसलगायत पहाडका बेसी क्षेत्रहरूमा समेत यो धानखेती लगाइन्छ । चैते–२, चैते–४ तथा हर्दिनाथ–१ तराई क्षेत्रमा प्रचलित छन् भने बेसी क्षेत्रतिर सी.एच.–४५ पनि लगाइएको पाइन्छ, तर हर्दिनाथ–१ ले बिस्तारै सी.एच.–४५ जातलाई विस्थापित गर्दैछ । ठाउँ तथा जात हेरी १ सय १५ देखि १ सय ३० दिनमा यो धान पाक्छ र सरदर ४.०–५.० टन-हेक्टरसम्म उत्पादन हुन्छ । नेपालमा धानको सरदर उत्पादकत्व ३ हजार १ सय ५४ किलोग्राम प्रतिहेक्टर मात्र छ । चैते धान काटेपछि त्यही जमिनमा पुनः वर्षे धानको रोपाइँ गरिन्छ । यस खेतीका लागि सिँचाइ सुविधा हुनु जरुरी छ । विगत ५० वर्षलाई समीक्षा गर्ने हो भने नेपालमा ११ वटा चैते धानका जातहरू उन्मोचन भइसकेका छन् । सबैभन्दा पछि उन्मोचन भएको जात हर्दिनाथ–१ हो । चैते धान बीउ छरेपछि १ सय १० दिनदेखि १ सय ३५ दिनभित्र पाक्छ । पुराना कृषकप्रिय जातहरूमा सी.एच. ४५ र विन्देश्वरी हो भने नयाँ उन्मोचन भएकामध्ये हर्दिनाथ–१, चैते–२, चैते–४, चैते–६ हरू लोकप्रिय छन् । धानबालीमा एउटा सूत्र छ, जस्तै धानको फूल फुलेपछि जति धेरै घामको प्रचण्डता (सोलर रेडिएसन) भयो उति धेरै धान फल्छ । यस स्तम्भकारले जनकपुरमा काम गर्दा चैते धान फूल फुलेपछि ६ सय क्यालोरी प्रतिवर्गमिटर प्रतिदिन मापन पाएका थिए भने वर्षे धान फूल फुलेपछि ५ सय क्यालोरी प्रतिवर्गमिटर प्रतिदिन मात्र पाएका थिए । यिनै वैज्ञानिक तथ्यले गर्दा वर्षे धानबालीको तुलनामा चैते धानको प्रतिहेक्टर प्रतिदिनको उत्पादकत्व २० देखि २५ प्रतिशत बढी हुने गरेको पाइएको छ । नेपालमा प्रत्येक वर्ष सिञ्चित क्षेत्र बढदै गएको अवस्थामा चैते धान खेती गर्न सकिने क्षेत्र बढाउँदै जाने हो भने धानको उत्पादन सहजै बढाउन सकिने भएकाले चैते धान खाद्यसुुरक्षाका लागि वरदान भन्न पनि सकिन्छ । किनकि अब जमिन बढाएर खेती गर्ने गुन्जायस नै छैन । चैते धानमा मौसम राम्रो हुनुका साथै रोग, कीरा कम लाग्ने, रासायनिक मलको सदुपयोग बढी हुने गर्छ । चैते धानको एउटा समस्या भनेको असारमा गएर पाक्ने हुनाले धानबाली काटी समेट्न अति गाह्रो हुने गर्छ । अरु देशहरूमा काटेको धान सुकाउन ड्राएर मेसिनको प्रयोग गरेको पाइन्छ भने नेपालमा यस प्रकारले धान सुकाएको विरलै पाइन्छ । धानको नर्सरी ब्याडमा प्लाष्टिक प्रयोग गरे बेर्ना चाँडै हुर्काउन सकिन्छ र पछि काट्ने बेलामा समस्या कम हुन जान्छ । धानब्याडमा बीउ छर्नु एक महिनाजति अगाडि ब्याडलाई प्लास्टिकले छोपिदिए (स्वायल सोलराइजेसन) रोगका जीवाणुहरू नष्ट गर्न सकिन्छ र मरुवा (ब्लास्ट) जस्ता बीउजन्य रोगमा कमी ल्याउन सकिन्छ । हर्दिनाथ–१ जात त चाँडै यानी ११० दिनभित्रै पाक्छ र अन्य तरकारीबालीहरू लगाउन पनि सहज हुनजान्छ । कम्पोस्टमल प्रशस्त हाली एक महिना अगाडि नै ब्याड बनाउनुपर्छ । भनिन्छ, हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात’ । रोपाइँ गरिने मुख्य खेतमा पनि रासायनिक मलका साथै प्रशस्त कम्पोस्टमल वा हरियो मल प्रयोग गरे माटोको स्वस्थता कायम हुनुका साथै दिगो रूपमा धानको उत्पादन पनि बढाउन सकिन्छ । किनकि सिञ्चित धानबालीमा टपड्रेस गरेको युरियाबाट ६० देखि ७० प्रतिशत नाइट्रोजन चुहिएर, बगेर, उडेर जाने गर्छ । यसैले एकीकृत पोषकतत्वव व्यवस्थापनका लागि जोड दिइनुपर्छ ।
(लेखक नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अवकाशप्राप्त वरिष्ठ धानबाली विशेषज्ञ हुन् ।)