विकास माग्दै सय वर्षीय वडाध्यक्ष

वृद्ध शरीर । सेताम्मे कपाल । लौरो र सहयोगीको सहारामा पनि उनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको कार्यकक्षमा छन् । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट उनी मन्त्री सोनलसँग विकासका योजना माग गर्छन् । उनी अर्थात राजविराज नगरपालिका–१३ का वडाअध्यक्ष राजनप्रसाद यादव ।
सय वर्ष नाघिसकेका पातलो शरीरका यादवको बोली टाठो छ । साविकको बिसहरिया गाउँ विकास समितिको अध्यक्ष समेत रहेका उनी गत निर्वाचनमा साविकको संघीय समाजवादी फोरमको तर्फबाट वडाअध्यक्ष विजयी भए । पञ्चायत र बहुदलमा समेत जनताका प्रतिनिधि बनेका यादव संघीय शासन व्यवस्थामा आइपुग्दा छैठौं पटक जनप्रतिनिधि चुनिएका छन् । “मेरो वडामा सडक, बिजुलीलगायतका भौतिक पूर्वाधार विकासको समस्या छ । यसको धेरै आवश्यक भएकोले मन्त्रीसँग योजना मागेको छु,” वडाध्यक्ष यादव भन्छन्, “जनतालाई खान लाउन र सडक, नाला लगायतको निर्माण नै विकास हो, आपूm पढेलेखेको नभएपनि सहयोगी लिएर विकास माग्न आएको हुँ ।” पहिलेभन्दा अहिले विकास र केही परिवर्तन भएको उनको बुझाइ छ । विगतमा पीडित भएको भन्दै अहिले धेरै परिवर्तन महशुस गरेका छन् उनले ।
“अहिले नयाँ संविधान आएको छ । त्यसैले अहिले हामीले चुनाव जितेका छौं,” उनी सुनाउँछन्, “पहिले पढाइलेखाई थिएन । बजेट पनि पर्याप्त थिएन । अहिले बजेट पनि पर्याप्त आएको छ । अब ठिक छ । विकास हुन्छ ।” सडकको व्यवस्था तथा सिँचाइको सुविधा, स्कुलको व्यवस्था, स्वास्थ्य उपचारको लागि हेल्थ पोष्टको व्यवस्था हुनुप¥यो भन्दै यादवले मन्त्री सोनलसँग माग गरे । १०५ वर्षमा पनि निकै जोशिला देखिएका यादवको विकासप्रतिको चिन्ताले मन्त्री सोनलसमेत निकै प्रभावित भए । “तपाईँजस्तै जनताको चिन्ता लिने जनप्रतिनिधि भएमा हामीलाई जनताको काम गर्न सहज हुन्छ”, यादवलाई सम्मानका साथ सोनलले भने, “मुलुकको विकासमा कर्मचारी संयन्त्रले काम गरेनन् । हामीले नीति निर्माण गर्ने हो । कार्यान्वयनको पाटो कर्मचारी संयन्त्रले गर्ने हो । कर्मचारीहरुले काम नगरिँदिदा अहिले सम्म परिवर्तनको महशुस गराउन सकिएन ।” सय वर्षमा छैटौंपटक जनप्रतिनिधि भएका व्यक्ति मन्त्रालयसम्म धाउनुपर्ने अवस्था आउनु भनेको नै विगतमा कर्मचारीले काम नगरेको प्रष्ट हुन्छ”, मन्त्री सोनल भन्छन्, “अब सुधार गर्नुपर्छ ।”
राजतन्त्रको समयको घटना स्मरण गरे । राजाको सवारी आएको थियो । राजाले हामीलाई सोधे, ‘के लिएर आएको छौ ?’ हामीले भन्यांै, “हाम्रो मूल सम्पत्ति वनजंगल हो । अतिक्रमण हुदैछ । यसलाई रोक्नुप¥यो सरकार ।” त्यसबेलाका कर्मचारीहरुले राजासँग बोल्दा सरकार भनेर बोल्नु भनेरै सिकाउने गरेको उनले सुनाए ।
विकास मानवीय आवश्यकता र चाहना दुवै हो । नेपालीको औषत उमेर क्रमशः वृद्धि भएर अहिले ७० वर्षको हाराहारीमा पुगेको छ । तर, सय वर्षीय वडाध्यक्षको विकास चाहना कस्तो होला ? उनको विकास मनोविज्ञान कस्तो होला ? वडाध्यक्षको रुपमा उनको वडा र नगर कार्यपालिकाको सदस्यको रुपमा नगरको सामाजिक आर्थिक समस्या र आवश्यकताहरुलाई समाधान गर्ने कस्तो जुक्ति अपनाइरहेका होलान् ? उनको भूमिका र योगदान कस्तो रहेको होला ? खोजीको विषय हो ।