आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति

नेपालको हवाई क्षेत्रमा पहिलोपटक एटीआर–७२–५०० विमान दुर्घटना भएको छ । आइतबार पोखरामा पहिलोपटक यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा परेसँगै आन्तरिक उडानमा सबैभन्दा ठूलो मानवीय क्षति पनि भएको छ । करिब ८ महिनाको अन्तरालमा दुई दुर्घटनाबाट ९४ यात्रुले ज्यान गुमाएका छन् ।
आन्तरिक उडानमा व्यावसायिक यात्रुवाहक विमान सन् २०१६ पछि आइतबार यतीको विमान दुर्घटना भएको छ । यसअघि तारा एयरको सन् २०१६ को म्याग्दी दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए । यसअघि गत जेठ १५ मा पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त हुँदा २२ जना यात्रुको निधन भएको थियो । नेपालजस्तो भौगोलिक बनोट भएको देशमा एटीआर–७२ विमान सुरक्षित मान्निछ ।
तर नियामक निकायले हवाई सुरक्षामा ध्यान केन्द्रित गर्न नसक्दा हवाई दुर्घटनामा वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजन पोखरेलले बताए । उनले भने, “हवाई सुरक्षामा ध्यान दिन नसक्दा पहिलोपटक आन्तरिक उडानमा ठूलो मानवीय क्षति भएको छ ।” प्राधिकरणका अनुसार आन्तरिक उडानमा धेरै मानवीय क्षति भएको यो पहिलो दुर्घटना हो ।
“नियामक निकायले हवाई सुरक्षामा सुधार गर्नको लागि नागरिक उड्डयन प्राधिकरणको पुर्नसंरचना आवश्यक छ,” पोखरेलले भने, “नेपालको उड्डयन इतिहासमा पहिलोपटक एटीआर–७२ जहाज दुर्घटनामा परेको छ । के कसरी विमान दुर्घटनामा परेको भन्ने बारेमा यकिन गर्न सकिने अवस्था छैन । यथार्थ भने छानबिन समितिको प्रतिवेदनले नै यकिन गर्ने छ । चालक दलले सार्प टर्न गरेको विमानलाई पुनः लयमा फिर्ता गर्न नसक्दा दुर्घटनामा परेको अनुमान गर्न सकिन्छ ।”
आइतबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटनामा परेको हो । आन्तरिक उडानका भरिरहेका बुद्ध एयर र यतीसँग मात्रै नेपालमा एटीआर–७२ जहाज छन्। आइतबार भएको दुर्घटना यती एयरलाइन्सको चौथो दुर्घटना हो । तर, यती एयरलाइन्सको २५ वर्षे इतिहासमा सबैभन्दा ठूलो दुर्घटना भएको छ ।
प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट २०२२ अनुसार पोखरा विमान दुर्घटना नेपाली आकाशमा भएको १०४ औं हवाई दुर्घटना हो भने व्यावसायिक आन्तरिक उडानमा भने ५० औं हो । तर, यो नेपालको आन्तरिक उडान इतिहासमै सबैभन्दा ठूलो दुर्घटना पनि हो । नेपालको हवाई इतिहासमा अन्तर्राष्ट्रिय उडानमा इतिहास भने तेस्रो ठूलो दुर्घटना हो ।
व्यावसायिक आन्तरिक उडानतर्फ सन् १९६९ मा हेटौंडामा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा ३५ जनाले ज्यान गुमाएका थिए । त्यसपछि आन्तरिकमा नै नेपाल एयरलाइन्सकै सन् २००० को डडेल्धुरा जोगबुढा दुर्घटनामा २५ जनाले ज्यान गुमाएका थिए । यात्रुवाहकतर्फ तारा एयरको सन् २०१० को ओखलढुंगा दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।