Logo

कृषि र पर्यटनको सम्भावाना

स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि भन्दै जग्गा अधिग्रहण गरिएको ४० वर्षपछि धनकुटाको अमलेटारमा रहेको औद्योगिक ग्राममा उद्योगहरू स्थापना हुन थालेका छन् ।

अढाइ सय वर्षदेखि पूर्वको प्रशासनिक केन्द्रका रूपमा रहेको धनकुटा पूर्वीपहाडी जिल्लाको प्रवेशद्वारका रूपमा रहेको छ । संघीयता कार्यान्वयनमा आउनुभन्दा अगाडि पूर्वाञ्चलको सदरमुकामका रूपमा समेत थियो । सुनसरी, मोरङ, इलाम, भोजपुर, तेह्रथुम र संखुवासभा जिल्लाका बीचमा रहेको यस जिल्लाको मुख्य आम्दानीको स्रोत भनेको कृषि र पशुपालन नै रहेको छ । धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका दूध र तरकारी उत्पादनका लागि प्रख्यात रहेको छ ।

यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कामसमेत गरिरहेको छ । त्यस्तै एसियाकै रसिलो सुन्तला पाइने स्थानका रूपमा सहिदभूमि गाउँपालिकाको खोकुलगायत खाल्सा क्षेत्र चर्चित छ यहाँ मुख्य आम्दानीको स्रोत नै सुन्तला रहेको छ । त्यस्तै नेपालमा उत्पादन हुने ८० प्रतिशत हिस्सा ओगटेको एभोकाडोको राजधानी घोषित धनकुटामा धनकुटा नगरपालिकाले एभोकाडो खेतीको प्रवर्द्धन गर्दै किसानलाई यस खेतीतर्फ आकर्षित गर्दै लगेको छ ।

कृषि क्षेत्रको विकासमा अनुसन्धान गर्नका लागि धनकुटा नगरपालिकाको पारिपात्लेमा राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम, पाख्रिवासमा बंगुर अनुसन्धान कार्यक्रम तथा पाख्रिवास कृषि अनुसन्धान केन्द्र सञ्चालनमा छन् यहाँबाट विकास गरिएको पाख्रिबासे कालो बंगुर नेपालभरि लोकप्रिय छन् । धनकुटाको हिले व्यापारिक र पर्यटकीय सहरका रूपमा विकास हुँदै गरेको छ भने प्रदेश न १ कै चर्चित पर्यटकीय क्षेत्रका रूपमा साँगुरीगढी गाउँपालिको भेडेटार, नमस्ते झरना, आत्मा बस्ने घर, नाम्जे, चौबिसे गाउँपालिको राजारानीलगायत क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा छन् ।

त्यस्तै किसाँत धर्मालम्बीहरूले मान्दै आएको धनकुटा, सुनसरी र उदयपुरको सीमावर्ती त्रिवेणीमा रहेको खुवालुंग पनि पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा रहेको छ । सबै निकायको गरी धनकुटामा बिगतको ५ वर्षमा २३ अर्ब विकास बजेट खर्च भएको छ यति हुँदा पनि धनकुटा आर्थिक, सामाजिक र संरचनागत विकासमा फड्को मार्न भने सकेको छैन । यहाँका करिब १४.२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् बितेको १० वर्षमा धनकुटाबाट ४७ हजार युवाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।

बेलायत सरकारको सहयोगमा वि.सं २०४० सालमा बनेको धरान धनकुटा सडकलाई नेपालकै पहिलो बायोइन्जिनियरिङ युक्त बलियो सडकका रूपमा समेत चिन्निन्छ तर, यस सडकले धनकुटावासीको आर्थिक अवस्थामा त्यति ठूलो योगदान भने गर्न सकेको छैन । धनकुटामा घरेलु तथा साना उद्योगको संख्या ५ हजार ४ सय ९१ रहेको सरकारी तथ्यांक रहेको छ यस्ता उद्योगले सामान्य रोजगारी मात्र सिर्जना गर्न सकेको छ ।

स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि भन्दै जग्गा अधिग्रहण गरिएको ४० वर्ष पछि धनकुटाको अमलेटारमा रहेको औद्योगिक ग्राममा उद्योगहरू स्थापना हुन थालेका छन् । धनकुटाको धनकुटा नगरपालिका ६ आत्मारामा रहेको अमलेटारमा औद्योगिक ग्राम बनाउन २०३९ सालमै ६० रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

लामो प्रक्रियापछि उद्योगहरू स्थापना हुन थालेपछि यहाँका उद्यमीमा आशाको दियो भने बलेको छ । बसाईसराइ, खानेपानी अभाव, सिँचाइ, बेरोजगारी, शिक्षा र स्वाथ्यका लागि व्यावस्था नहुनु यहाँको मुख्य समस्या रहेको छ । राजनैतिक रुपले ५ पटकसम्म नेपालको प्रधानमन्त्री बनेका स्वर्गीय सूर्यबहादुर थापाले समेत शक्तिमा रहँदा जिल्लाको विकासमा त्यति ध्यान नदिएको धनकुटाबासी बताउने गरेका छन् ।

सूर्यबहादुर थापापछि केन्द्रसँग सीधा पहुँच राख्ने नेता नहुँदासमेत विकासका सूचकहरू सन्तोषजनक हुन सकेको छैन भने हरेक वर्ष हुने प्रदेश र केन्द्र सरकारको बजेट तथा नीति कार्यक्रममा धनकुटाको नामसम्म उचरण नहुँदा यहाँका बासिन्दा निराश हुने गरेका छन् । त्यति हुँदा पनि धनकुटामा कृषि, पर्यटनको संभावाना भने प्रचुर रहेको छ ।

आशाका आयोजना बेलाहारा विमानस्थल

केही वर्ष अघिसम्म राम्रौ चर्चा कमाएको धनकुटा नगरपालिका–९ मा रहेको बेलाहारा विमानस्थल पछिल्लो समय चुनावका बेला मात्र यदाकदा सुनिन थालेको छ । यो स्थानमा एयरपोर्ट बन्ने हल्ला भने करिब ५० वर्ष जति भएको छ । सर्वेक्षण र विमानस्थल बन्ने भन्ने कुरा चलेको यहाँका स्थानीयले विर्षन थालेका छन् । बेलाहाराका स्थानीय ७० वर्षीय दोलनाथ ढकालले भने आफूले जान्ने सुन्ने भएदेखि विमानस्थल निर्माण कुरा चलेको हो तर अहिलेसम्म कुनै काम अगाडि बढेको छैन अब सायद बन्दैन पनि होला ।

वि.सं २०२२ मा पहिलो पटक विमानस्थलको गर्नका लागि प्रारम्भिक सर्वेक्षण गरिए जस्तो लाग्ने स्थानीय बताउँछन् । तर, विभिन्न कारण देखाएर विमानस्थल निर्माणको काम नभएको स्थानीय बताउँछन् । पछिल्लो समयमा सो स्थानमा विमान स्थल बन्नुपर्छ भन्दै वि.सं २०५० सालदेखि तत्कालीन जिल्ला–जिल्ला विकास समितिले जिल्ला परिषद्बाट पहिलो नम्बरमा आयोजना राखेर मन्त्रालयमा पठाउने गरेको साथै कर्मचारी तहबाट पटक–पटक मन्त्रालयका उच्चअधिकारीसँग समेत औपचारिक र अनौपचारिक भेट वार्तामा कुरा राख्दासमेत कुनै देखिने गरी सुनुवाइ हुन नसकेको जिल्ला विकासमा लामो समयसम्म कार्यरत रहेका एक कर्मचारीले बताए ।

पछिल्लो समय २०६८ सालमा नेपाल नागरिक उड्डयान प्राधिकरणले धनकुटाका तीन स्थानको सर्वेक्षण गरी बेलाहारामा विमानस्थल निर्माण गर्न सकिने बताएको र मन्त्रिपरिषद्ले समेत त्यसलाई स्वीकृति दिएको भए पनि अहिलेसम्म काम अगाडि भने बढेको छैन । वि.सं २०७१ मा इन्जिनियर मणिगोविन्द श्रेष्ठको नेतृत्वको टोलीले विस्तृत सर्वेक्षणअनुसार बेलाहारामा एक हजार ३ सयदेखि एक हजार ५ सय मिटरसम्मको धावनमार्ग निर्माण गर्न सकिने सर्वेक्षण गरेको भए पनि त्यसपछि भने यो विमानस्थल निर्माणको कुरा निर्वाचनको समयमा मात्र सुन्न थालेको स्थानीय बताउँछन् ।

सर्वेक्षण टोलीले यस स्थानमा बन्ने विमानस्थल विराटनगरबाट २२ तुम्लिङ्गटारबाट २४ भोजपुर विमान स्थलबाट १७ नटिकल माइल टाढा रहेको प्रतिवेदनमा जनाएको थियो । धनकुटाको आशाको आयोजनाका रूपमा रहेको यो विमानस्थल बन्ने नबने सत्य असत्य कुरामै अल्झिएको देखिन्छ तर सास रहुन्जे आस भने जस्तै अझै पनि धनकुटेलीहरू भने यो विमानस्थल निर्माण होला र धनकुटाको विकासमा केही मदत गर्ला भन्ने आशमा भने रहेको देखिन्छ ।

सुरुङ्गमार्गका कुरा

सुरुङ्गमार्गका कुरा धनकुटाको साँगरीगढी गाउँपालिका लेउतीबाट धरानसम्म लगिने सुरुङ्गमार्गका कुरा भएको पनि वर्ष धेरै बिते काम भने कहाँ पुग्यो सबै अन्योल मै छन् स्पस्ट जवाफ न राजनैतिक दलका नेतालाई थाहा छ न जनप्रतिनिधि नै यसबारे जानकार छन् । यो स्थानमा सुरुङ्गमार्गका भन्ने कुरा करिब वि.सं. २०४० सालतिरबाटै तत्कालीन समयमा बेलायत सरकारको सहयोगमा निर्माण भएको धरान धनकुटा सडक निर्माणको समयदेखि नै त्यहाँ सुरुङ्गमार्ग भन्ने कुराको हल्ला भएको भए पनि अहिलेसम्म सुरुङ्गमार्गका कुरामा मात्र सीमित भएको छ ।

नेपाल सरकारका विभिन्न आर्थिक वर्षका बजेटमा पर्ने भए पनि काम भने अहिलेसम्म हुन सकको छैन । सरकाले उच्च प्राथमिकता भन्दै यहाँ मात्र नभएर देश भरिनै विभिन्न स्थानमा सुरुङ्गमार्गका निर्माणको कामका कुरा गरे पनि यो सुरुङ्गमार्ग भने अहिलेसम्म कुरामा मात्र सीमित रहेको छ । यहाँ सुरुङ्गमार्गका निर्माण गरेर तमोरको पानी लगेर धरानका जनतालाई खुवाउने कुरा धेरै चर्चामा रहने गरेको छ र उसोत भर्खरै सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनको समयमा समेत पूर्वप्रधानमन्त्री केपी शर्माओलीले धरानको चुनावी सभामा डाँडो कटाएर नभए डाँडो छेडेर धरानका जनतालाई पानी खुवाउने भन्दै चुनावी भाषणसमेत दिएका थिए ।

शिक्षण अस्पतालको माग

राणाकालीन समयदेखि पूर्वको प्रशासनिक केन्द्रका रूपमा रहेको धनकुटा गणतन्त्र र संघीयता संगै प्रादेशिक राजधानी विराटनगर तोक्ने, अन्य सरकारी तथा प्रशासनिक कार्यलयहरू विराटनगर, इटहरीलगायत अन्य जिल्लामा सार्न थाले सँगै सरकाका ती निर्णयको विरुद्धमा धनकुटामा करिब दुई महिनासम्म धनकुटामा आन्दोलन भयो धनकुटा लाई उजाड बनाउन पाइँदैन भन्ने आन्दोलनको मागलाई सम्बोधन गर्नका लागि धनकुटामा विभिन्न डिभिजन कार्यलय राख्ने, मुख्यमन्त्रीको सम्पर्क कार्यलय स्थापना गर्ने र उजाडिएको धनकुटामा शिक्षण अस्पताल निर्माण गर्नेलगायतका विषयमा त्यसबेला सम्झौता भयो तर अन्य माग आंशिक सम्बोधन भए पनि मुख्य मागका रूपमा रहेको धनकुटामा शिक्षण अस्पताल निर्माण गरिने भन्ने कुरा भने त्यसै सेलाएको छ ।

प्रदेश सरकारको अघिल्लो वर्ष नीति तथा कार्यक्रमा समेटिएको र बजेटसमेत विनियोजन भए पनि शिक्षण अस्पताल बन्ने कुरा सेलाउँदै जाँदा धनकुटासहित पूर्वी पहाडी जिल्लाका नागरिकलाई समेत सेवा दिने उद्देश्यले निर्माण गरिने भनिएको अस्पताल चुनावी नारामै मात्र सीमित भएको छ । प्रदेशको राजधानीसँग साटिएका भए पनि शिक्षण अस्पताल नबन्दा धनकुटेलीहरू निराश भएका छन् ।

नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले भने प्रदेशको राजधानीसँग साटिएको भए पनि शिक्षण अस्पताल नबन्दा धनकुटाका जनतालाई धोका दिएको बताउँछन् । केही वर्षअघिसम्म नीति तथा कार्यक्रम र बजेटमा शिक्षण अस्पताल बन्ने कुरा हुन्थो छलफलका कार्यक्रम र बहस हुन्थे तर अहिले सबै सेलाएको छ यो धनकुटालाई मात्र नभएर पूर्वीपहाडी जिल्लाका नागरिकप्रति नै धोका भएको छ । प्रदेश सरकारबाट धनकुटाका जनता र समग्र पूर्वीपहाडी जिल्लाका नागरिकलाई ललिपप देखाउने मात्र काम भएको छ ।

धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने पूर्वसांसदहरू पनि आफूहरूले पटक–पटक कुरा राख्दासमेत सम्बन्धित निकाय र पक्षले त्यसतर्फ खासै चासो नदिएको बताउँछ । नवनिर्वाचित संसद् भने आफूहरूले मुख्य मुद्दाका रूपमा यस कुरालाई लिएर अगाडि बढ्ने बताउँछन् । धनकुटेलीहरू धनकुटामा शिक्षण अस्पताल निर्माण भए आर्थिक रूपले समेत धनकुटा चलयमान हुन्छ भन्ने विश्वासमा छन् ।

प्रतिक्रिया दिनुहोस्