Logo

हेलम्बुमा ग्रेटट्रेल निर्माण सुरु

प्रमुख पर्यटकीय गाउँ हेलम्बुलाई चौतर्फी पर्खालले घेर्ने योजनाका साथ चीनको ग्रेटवालजस्तै पर्यटन मार्ग (ग्रेटट्रेल) निर्माण सुरु गरिएको छ । कुल ६० किलोमिटर लम्बाई रहने ग्रेट ट्रेल निर्माणपछि चीनको विश्वकै दोस्रो लामो पर्खाल हुने दावी गरिएको छ ।
हेलम्बु भित्रिने आन्तरिक तथा वाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मूलतः पदमार्ग हो । हेलम्बुको डाँडाकाँडामा रहने यो ग्रेट ट्रेलबाट हिमाल अवलोकनमा साथै यहाँ पाइने वन्यजन्तु देख्न सकिन्छ । यहाँ लोपोन्मुख वन्यजन्तु रेडपान्डासमेत देख्न पाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अगुवाइमा निर्माण भइरहेको मार्गलाई हेलम्बु हिमालयन ग्रेट ट्रेल नामाकरण गरिएको छ ।
यो मार्ग हेलम्बुु–१ बुद्घपार्कबाट सुरु भई समुन्द्री सतहबाट २५ सय उचाईमा पर्ने सेर्माथाङ हुँदै लैजाने गुरुयोजना छ । “ज्योमथाङ, आमायाङ्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ,” गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने ।
विशेषगरी पयर्टक आकर्षित गर्नकै लागि लामो पर्खाल बनाइन लागिएको हो । लोपोन्मुख ह्योल्मो जातिको संस्कृति नेपालभर यहाँ मात्रै देख्न सकिन्छ । गुम्बैगुम्बाको क्षेत्र भनेर चिनिइने हेलम्बुमा गुम्बा पुनर्निमाणपछि आन्तरिक तथा बाह्य पयर्टक बढेपछि यसको परिकल्पना गरिएको हो । “यसको निर्माणको कुल लागत ९६ करोड हुने अनुमान हामीले गरेका छौं,” अध्यक्ष शेर्पाले भने, “धेरै लागत लाग्ने भएकाले हामीले मात्रै लगानी गर्न सक्दैनौं, त्यसैले यस आर्थिक वर्षमा गाउँपालिकाले १० किलोमिटरको मात्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम सुरु गरी तीब्र गतिमा अगाडि बढाएका छौं ।”
प्रमुख पर्यटकीयस्थल भएकाले गाउँपालिकाले डीपीआरको काम सकेपछि प्रदेश सरकारले काम अगाडि बढाउनको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । “हेलम्बु आफैंमा पर्यटकीय गाउँ हो, यसको प्रचार सोचे अनुरुप हुनसकेको छैन,” हेलम्बु पर्यटक प्रवद्र्धक तथा समाजसेवीसमेत रहेका सेर्माथाङवासी गोपाल लामाले भने, “यहाँको भाषा, संस्कृति, मौलिकपन, हावापानी, होमस्टेले गरेको पर्यटकीय आकर्षलाई धेरै बढी पर्यटन मार्गले गर्ने आश गरेका छौं ।” पुसलगत्तै अधिकांश स्थानमा हिउँ पर्ने र सूर्योदय र सूर्यास्तको दृष्य पनि हेलम्बुबाट अवलोकन गर्न सकिने उनले बताए ।
पर्यटन प्रवद्र्धनमार्फत् गाउँपालिकालाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले राखेर पर्यटन मार्ग निर्माण सुरु हो । हेलम्बुका समाजसेवी एवं नेपाली कांग्रेसका महासमिति सदस्य जिमी लामा सबै हेलम्बुवासी मिलेर यो पर्खाललाई छिट्टै निर्माण सम्पन्न गर्न सके यहाँका वासिन्दा अर्थतन्त्रमा अब्बल हुने दावी गर्छन् । “यहाँ पर्यटक बढेसँगै आर्थिक चहलपहल हुने भएकाले त्यसबाट अधिकांश फाइदा हेलम्बुवासीले पाउनेछन्,” जिमीले भने, “यो हेलम्बुवासीका लागि ड्रिम प्रोजेक्ट हो, र हाम्रो गौरव पनि हो ।” उनले गुम्बाको गाउँ, स्याउको सहर, होमस्टे हबजस्ता नामले चिनिइने हेलम्बुलाई पर्यटकहरूले पर्खाललाई पनि समावेश गरेर पर्यटन प्रवद्र्धनमा जोड हुने बताए ।
यो पर्खाल यसअघिको पदमार्ग आसपासमा समेत रहन्छ । झण्डै आधाजसो भाग जंगललेसमेत छुनसक्छ । हेलम्बुमा पाइने जंगली जीव–जनावरलाई आवतजावतमा अफ्ठ्यारो नपरोस भन्ने उद्देश्यले पर्यटन मार्ग निर्माण गर्ने क्रममा गाउँपालिकाले विशेष ध्यान दिइरहेको छ । पर्यटकका लागि थप रोमाञ्चक प्रदान गर्न ठाउँठाउँमा भ्यू टावर पनि निर्माण गरिनेछ । — किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्