Logo

प्रदेशमन्त्री तथा उम्मेदवार थापाको निधन

प्रदेश १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’ का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको उपचारका क्रममा बुधबार विराटनगरमा निधन भएको छ । उनको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले गत असोज २३ गते निर्वाचनको मनोनयन दर्ता गरेपछि स्वास्थ्यमा समस्या देखिएको थियो । थापाको स्वास्थ्यमा निमोनिया र पायल्ससमेत देखिएपछि उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो ।
उनलाई स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि विराटनगर ल्याइएको थियो । उनको श्वासप्रश्वासमा समस्या भएपछि पुन: सोमबार उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको थियो । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । थापाको पथरीशनिश्चरे–८ घाटमा बुधबारै दाहसंस्कार गरिएको छ ।
यसैबीच मोरङ क्षेत्र नं ३ ‘क’को निर्वाचन कार्यक्रम स्थगित नहुने प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कांग्रेस मोरङले मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृतको कार्यालयलाई निधनका विषयमा जानकारी गराएपछि आयोगले अरू गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयन प्रक्रिया अघि बढाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्