१००ः८० को सेयर स्वाप अनुपात कायम गरी साधना र आर्थिक समृद्घिको विशेष साधरणसभा

गोरखा जिल्ला गोरखा नगरपालिका–६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनँहु जिल्ला भानु नपा–५ डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक समृद्घि लघुवित्तलाई एक्वायर गर्ने विशेष प्रस्ताव पारित सहिद विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारणसभाले आर्थिक समृद्घि लघुवित्त वित्तीय संस्थाको सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा तय भएको १००ः८० सेयर स्वापको मुख्य एजेन्डा पारित गरेको छ ।
उक्त साधारणसभाले एक्विजिसनपश्चात् एक कित्ता बराबर एक कित्ता (१ः१) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद सेयर जारी पछि वित्तीय संस्थाको चुक्ता पुँजी १४ करोड रुपैयाँ ७० लाख पुग्नेछ र एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशनअनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभामा वित्तीय संस्थाको अध्यक्ष कृष्णबहादुर थापाले एक्विजिसनपछि वित्तीय संस्था १० जिल्ला मात्र सीमित नरही राष्ट्रियस्तरको वित्तीय संस्थाका रूपमा स्थापित हुने जानकारी गराउँदै राष्ट्र बैंक तथा नियमनकारी निकायहरूको निर्देशन बमोजिम वित्तीय संस्थालाई अब्बल राष्ट्रियस्तरको वित्तीय संस्थाका रूपमा स्थापित गराई ग्रामीण दूरदराजमा गई वित्तीय सेवाको साथै सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्य रहेको बताए ।