विपद्सम्बन्धी दक्षिण एसियाली सम्मेलन आज देखि «

विपद्सम्बन्धी दक्षिण एसियाली सम्मेलन आज देखि

विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एसियाली सम्मेलन आज (सोमबार) सुरु हुँदैछ । नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि र विज्ञहरूको सहभागिता रहने सम्मेलनमा दक्षिण एसियाको विपद्सम्बन्धी अनुभव आदानप्रदानका साथै नेपालको पुनर्निर्माणबारे छलफल हुने छ । दुई दिने सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एन्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना हुन लागेको हो ।

 सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि र त्यसको दीगोपनासम्बन्धी प्रस्तुति दिने कार्यक्रम छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विपद्, पुनर्निर्माणलगायतका विषयमा तुलनात्मक रूपमा अनुभव आदान–प्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी अधिकृत बिमल पोख्रेलले स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनर्निर्माणले फड्को मारेको र नेपालले प्राप्त गरेका उपलब्धि तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले समेत सिक्न सकून भनेर सम्मेलनको आयोजना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्