दुई सातापछि खुल्यो नाग्म–गमगडी सडक

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध नाग्म–गमगडी सडक खुलेको छ । ठाउँठाउँमा विशाल पहिरोका कारण दुई हप्तादेखि अवरुद्ध सडक शनिबार राति १ बजेदेखि खुलेको हो ।
गत २० असोजदेखि सडक बन्द भएको थियो । नाग्म–गमगढीसम्मको ९३ किलोमिटर सडकखण्डको सयौं स्थानमा पहिरो झरेको थियो । सडक डिभिजन जुम्लाले अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा सातवटा मेसिनसहित रातदिन जनशक्ति परिचालन गरेपछि दुई हप्तामै सडक खुलेको हो । इन्धन अभाव भएपछि पिठ्यँुमा बोकेरसमेत सडक खुलाउन सफल भएका छन् ।
नागरिकहरूले ३/४ महिना लाग्ने अनुमान गरे पनि तिहारअघि नै सडक खुलाउने लक्ष्यअनुसार रातदिन काम गरेर शनिबार राति १ बजेबाट नाग्म–गमगडी सडक सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । उनले भने, “सडक खुले पनि केही स्थानमा हिलोका कारण यातायात सञ्चालनमा कठिनाइ देखिएको छ । लेन्थवर्कर र डोजर लगाएर हिलो पन्छाउने काम भइरहेको छ । ट्रयाक खुलिसकेकाले सवारीसाधन आवागमन व्यवस्थित हुँदै जाने आशा छ । १/२ दिनमा हिलो सुकेपछि सडक पूर्णरूपमा सञ्चालन भई नागरिकले ढुक्क यात्रा गर्न पाउने छन् ।”
सिन्जाको विष्टबाडा, कनकासुन्दरीको गोठिज्युला खण्ड, बुलबुलेदेखि जिया हुँदै सात मोड र गमगढीदेखि ताल्चासम्मको क्षेत्रमा ठूलाठूला पहिरो झरेको थियो । जुन पहिरो पन्छाउन सडक डिभिजन जुम्लाको जनशक्ति रातदिन नभनी फिल्डमै खटिएको थियो । जसका कारण अपेक्षाकृतभन्दा छिटो नाग्म–गमगडी सडक सञ्चालनमा आएको हो ।
यता कर्णालीको लाइफ लाइन मानिने कर्णाली राजमार्गको अवरुद्ध सडक खुलाउने कार्य दुई हप्तादेखि जारी छ । पहिरो हटाउन तथा सडकमा खसेका ठूला ढुंगा फुटाउनका लागि नेपाली सेनाको २४ नम्बर बाहिनी र नन्दाबक्स गणबाट ५० जनाको टोली खटिएको छ । प्रमुख श्रेष्ठले थपे, “पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । मेसिनमा समस्या आइरहेको छ । तर तिहार अगावै राजमार्ग खुलाउने लक्ष्यमा छौं । अवरुद्ध सडक टाकुल्लासम्म खुलिसकेको छ ।”