कोरोनापछिको उल्लासमय बडादसैं «

कोरोनापछिको उल्लासमय बडादसैं

यो वर्षको दसैं कोरोना महामारीपछिको उल्लासमय दसैंको रूपमा रहेको छ । गएको दुई वर्ष राम्रोसँग दसैं मनाउन नपाएका नेपालीहरूका लागि यो वर्षको दसैं विशेष बन्ने देखिन्छ । यतिबेला दसैंको चहलपहल बढेको छ । उपत्यका सहर छोडेर बाहिरी गृह जिल्ला जानेको लर्को चल्दै छ । विदेशबाट नेपाल फर्किनेको पनि उत्तिकै चहलपहल बढ्दै गइरहेको छ ।
आफूभन्दा ठूला मान्यजनको हातबाट टीका, जमरा, प्रसाद, आशीर्वाद ग्रहण गरी मनाइने यो पर्व घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइन्छ । विजयादशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजयादशमी मनाउने चलन छ ।
घटस्थापनाका दिन राखिएको जमरा दशमीको दिन दुर्गादेवीको प्रसादका रूपमा लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिले विजय पाएको दिनका रूपमा विजयादशमी मनाउने चलन हिन्दू धर्मावलम्बीहरूमा रहेको छ । टीकाका दिन परिवारका ठूला सदस्यहरूबाट टीका तथा जमरा लगाइने चलन छ । आमसर्वसाधारण बडादसैं मनाउन काठमाडौंबाट गाउँ फर्किने क्रम बढेसँगै काठमाडौं सुनसान हुन थालेको छ । दशमीको दिन शुभसाइतमा विधिवत् रूपमा राखिएको जमरा विसर्जन गरी अक्षताको रातो टीका निधारभरि लगाइने अनि कानमा जमरा सिउरिने हिन्दू परम्परा रहेको छ । दशमीबाट सुरु भएको मान्यजनको हातको टीका लगाउने कार्य पूर्णिमासम्म निरन्तर चलिरहन्छ भने सोही दिन समाप्त पनि हुन्छ ।
विशेषत: दसैं भन्नेबित्तिकै केटाकेटीमा मनाइएकै सम्झना बढी आउने गर्छ । बालापनमा नयाँ लुगा लगाएको अनि त्यही लुगा लगाएर मामाघर गएको, पिङ खेलेको मज्जा नै बेग्लै हुन्थ्यो । उति बेला हर्षोल्लासका साथ मनाइने दसैंको रौनक बिस्तारै कम हुँदै गइरहेको छ । दसैंको मज्जा लिनका लागि के चाहिन्छ भन्ने हो भने बालापन या बालापनका दौँतरी वा बालापनको परिवेश चाहिने हो । तर, त्यो परिवेशमा रमाउनेको संख्या बिस्तारै मासिँदै गएको छ । पहिला–पहिला हामीलाई दसैं आउँछ भन्ने सम्झिँदा मात्रै पनि रमाइलो लाग्थ्यो । महिनौं दिन अगाडिदेखि रौंनक छाइसक्थ्यो । अझ गाउँघरमा पिङ हाल्ने, बाबियो जम्मा पार्ने, चंगा उडाउने कार्यले दसंैलाई राम्रै स्वागत गरिरहेको हुन्थ्यो । दसैंका क्रियाकलापले र त्योसँग जोडिएका विभिन्न पक्षले पनि उत्तिकै रमाइलो हुन्थ्यो ।
कोरोनाले गर्दा दसैंको रौनक झन्डै मासिने अवस्थामा पुगेझैं लाग्थ्यो । तर, यो वर्ष भने त्यस्तो नहुने पक्का छ । उतिबेला गाउँघरतिर दसैंका लागि आवश्यक सामग्री खरिद गर्ने हाटबजारको अटसमटस भीड पनि रमाइलो लाग्थ्यो । भर्खरै मिलबाट कुटेर ल्याएको तातो–तातो चिउराको स्वादको बेग्लै आभास हुन्थ्यो । दसैंको पिङ त मुख्य नै हुन्थ्योे । दसैंको नयाँ लुगाले रमाइलोपनलाई झन् ताजगी बनाइदिन्थ्यो । दसैंको खसीको पोलेको कान, हारे पनि दसैंको लंगुरबुर्जा उफारेका, ती सब दसैंका लागि मात्र हुनेझैं लाग्थ्यो । त्यसको झल्को यो वर्षको दसैंमा अनुभूति गर्न पाइने सम्भावना बढ्दै गइरहेको छ । वास्तवमा भन्ने हो भने दसैंका हरेक क्रियाकलाले रमाइलो अनुभूति गराउँथ्यो । झन् दसैंको मामाघर सबैभन्दा रमाइलो अनि मामाले दिने दक्षिणा सबैभन्दा प्यारो अनि रमाइलो लाग्थ्यो । अब ती पल फर्केर नआए पनि सम्झना भने रहिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्