पहिलो विद्युतीय सवारी मेला ६ देखि ९ असोजमा

विद्युतीय सवारीका बारेमा सम्पूर्ण जानकारी एकै थलोमा दिने उद्देश्यले ईभी एक्स्पो २०२२ हुने भएको छ । नाडा अटोमोबाइल्स् एसोसियसन अफ नेपालद्वारा यही ६ असोजदेखि ९ गतेसम्म नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाको भव्य प्रदर्शनी ईभी एक्स्पो २०२२ हुन लागेको हो । सोमबार पत्रकार सम्मेलनमार्फत नाडाले एक्स्पोको जानकारी दिँदै काठमाडौंको भृकुुुुटीमण्डपको प्रदर्शनीस्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागिता रहने जनाएको छ ।
पछिल्लो समय विश्वव्यापी रूपमा वृद्धि भइरहेको विद्युतीय सवारी प्रयोगलाई नेपालमा पनि एकै थलोमार्फत जनाकारी गराउने लक्ष्यका साथ नाडाले ईभी एक्स्पो–२०२२ आयोजना गर्न गइरहेको अध्यक्ष धुव्र थापाले बताए । उनले भने, “नेपालमा कुल आयत भइरहेको सवारीमध्ये हाल १० प्रतिशत बढी विद्युतीय सवारीको आयात भइरहेको छ ।” विश्वका अन्य मुलुकमा प्रदूषण नियन्त्रण गर्न र इन्धनको खपत घटाउनका लागि विद्युतीय सवारीमा जोड दिएको भए पनि नेपालमा भने सरकारको अस्थिर नीतिका कारण विद्युतीय सवारी र यसको उत्पादनमा लगानी गर्न नसकिएको अध्यक्ष थापाको भनाइ छ ।
वर्तमान समयमा विद्युतीय सवारी साधनको महत्व दिनप्रतिदिन बढदै गएको र यस्ता सवारी साधनको बढदो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास रहेको नाडा ईभी एक्स्पो २०२२ का सभापति अनुपकुमार बरालले बताए । उनले भने, “वातावरणमैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गर्न लागिएको एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लक रहनेछन् ।”
एक्स्पोमा सातवटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाको सहभागिता रहेको जनाइएको छ ।
नेपालीको महान चाड–पर्वको पूर्वाद्र्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्यधिक जनचेतना अभिवृद्घि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीको समस्टिगत प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पर्नेमा आयोजक विश्वस्त रहेको छ । प्रदर्शनीमा प्रवेशका लागि खल्ती डिजिटलबाट अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । सोमबारदेखि नै टिकटको प्रि–बुकिङ गर्न सकिने नाडाले जनाएको छ । ४ दिनसम्म चल्ने उक्त नाडा ईभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ ।