ठूला योजनालाई बजेटले छोएन

आगामी आवका लागि सरकारले ल्याएको बजेटमा कञ्चनपुरका ठूला योजना सम्बोधन हुन नसक्दा यहाँका स्थानीयवासीमा निराशा छाएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले कृषि र औद्योगिक क्षेत्रको विकासका लागि सुदूरपश्चिमलाई बजेटमा नसमेटिएको भन्दै गुनासो पोखे । अध्यक्ष मल्लले भने, “सुदूरपश्चिममा स्थापना हुन गइरहेको दैजीछेला औद्योगिक स्थापनाका लागि बजेट व्यवस्था गरिनेछ भनिए पनि रकम किटान भएन, दार्चुला–तिंकरदेखि महाकाली पुलमा बनिरहेको चार लेनको पक्की पुल बजेटमा समेटिनु स्वागतयोग्य विषय हुन् ।”
उनले कञ्चनपुरको महाकाली नगरपालिकामा स्थापना गर्न प्रस्ताव गरिएको सुक्खाबन्दरगाह जस्तो सुदूरपश्चिमको ठूलो महत्वको योजना पनि बजेटमा नअटाएको बताए । उनले भने, “सुदूरपश्चिम प्रदेशकै मुहार फेर्ने सुक्खाबन्दरगाह र औद्योगिक क्षेत्रको स्थापनाका लागि निजी क्षेत्र पनि लामो समयदेखि पहलरत छ औद्योगिक क्षेत्रको बजेटमा समेटिनुले स्थापना हुनेमा आशा पलाएको छ ।”
कञ्चनपुरको वेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले बजेटमा औद्योगिक क्षेत्रका लागि बजेट व्यवस्था गरिएकाले केही आशा जगाएको बताए । उनले भने, “छेला औद्योगिक क्षेत्रको स्थापनाको काम पनि अन्तिम चरणमा छ बजेटमा रकम किटान नभए पनि सम्बोधन हुनुले औद्योगिक क्षेत्र स्थापनामा हुनेमा आशावादी छांै ।”
कञ्चनपुरमा यतिबेला मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीय संघर्ष समिति गठन गरेर दबाबमूलक कार्यक्रम गरिरहेका छन् । संघर्ष समितिको अगुवाइमा विमानस्थल पुनः सञ्चालनको विषयमा स्थानीय तहका प्रमुख, नागरिक, सरोकारवाला निकाय र स्थानीय प्रशासनबीच चरणबद्ध छलफल चलिरहेको छ ।
स्थानीय व्यवसायीले नयाँ बजेटमा कञ्चनपुरलाई विभेद गरिएको आरोप लगाएका छन् । स्थानीय व्यवसायी माधवप्रसाद जोशीले सुदूरपश्चिममा उद्योगधन्दा स्थापनाका लागि विशेष प्याकेज पाउनुपर्ने निजी क्षेत्रको माग पनि बजेटमा नआएको प्रति दुःखेसो पोखे । उनले भने, “गत बर्ष सुक्खाबन्दरगाहको सम्भाव्यताका लागि भन्दै बजेट व्यवस्था गरिए पनि यो वर्ष बजेटमा समावेश नभएको बताए । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका लागि भने बजेटमा ९० करोड विनियोजन गरिएको छ ।