दुई वर्षभित्र सबैको घरमा विद्युत जडान गरिने ऊर्जामन्त्रीको दाबी «

दुई वर्षभित्र सबैको घरमा विद्युत जडान गरिने ऊर्जामन्त्रीको दाबी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत जडान भएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताएकी हुन् । उनले विद्युत खपत बढाउनका लागि पनि सबैलाई पुन: आह्वान गरिन् । मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पारिन् । विद्युत खपत बढाउन सरकारले अभियान नै सञ्चालन गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरे । उनले आन्तरिक खपत बढाएर पनि मुलुकमा पाँच वर्षपछि वार्षिक रूपमा दुई खर्बको विद्युत निर्यात गर्ने योजना रहेको पनि बताए ।
प्रबन्ध निर्देशक घिसिङले विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्