Logo

द्रुतमार्गको डीपीआर प्रतिवेदन स्वीकृतीका लागि मन्त्रिपरिषदमा

रक्षा मन्त्रालयले काठमाडौं–तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) परिमार्जन सहित स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पेश गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा काठमाडौं–तराई द्रुतमार्गको डीपीआरको परिमार्जित प्रतिवेदन रक्षा मन्त्रालयले स्वीकृतीका लागि मन्त्रिपरिषदको कार्यलयमा पेश गरेको हो ।
नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा डीपीआर स्वीकृतीका लागि मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको जानकारी दिए । उनले डीपीआर प्रतिवेदन १० करोड लागतमा निर्माणका गरिएको र स्वीकृती हुने क्रममा रहेको जानकारी दिए ।
सो आयोजना अन्तर्गतको पुल निर्माणको कामलाई पनि सुरु गरिएको नेपाली सेनाले जनाएको छ । आयोजनाका प्रमुख उपरथी खाँणले पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको बताए । उनले आयोजनाको ६ सय ५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकि रहेको उल्लेख गर्दै त्यसलाई पनि अघि बढाउने बताए । खाँणले आगामी २०७९ साल असोज महिना भित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई अघि बढाइएको पनि बताए । निर्धारित समय सिमा भित्र सो आयोजनाको कामलाई सम्पन्न गर्ने गरी आवश्यक्ता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण व्यवसायी पनि परिचालन गरिएको पनि उनले जानकारी दिए ।
समितिले डीपीआर प्रतिवेदन मन्त्रीपरिषद बैठकबाट स्वीकृत गरी आयोजना निर्माणको कामलाई निर्धारित समय भित्रै सम्पन्न गर्न सेनालाई सहज बाटो खोली दिन सरकारलाई निर्देशन दिएको छ । समितिकी सभापति दिलकुमारी रावल थापाले आयोजनाको कामलाई तोकिएकै समयमा सम्पन्न हुने गरी मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको डीपीआर प्रतिवेदन तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिइन् ।
कोरियाली कम्पनी सुसुङले निमार्ण गरेको प्रस्तावित प्रतिवेदन अनुसार दु्रतमार्गमा रहने सुरुङको सँख्या बढेको छ । पहिले एउटा मात्रै सुरुङ मार्ग प्रस्ताव गरेकोमा अब तीन वटा निर्माण हुनेछ भने द्रुतमार्गमा निर्माण हुने पुलको उचाई पनि घट्ने भएको छ । यसअघि ६० देखी ७० मिटर पुलको उचाई प्रस्ताव गरेकोमा सुसुङले भने अब बन्नेमा पुलको उचाई ४० मिटरको मात्रै प्रस्ताव गरेको छ । पुलको उचाई घट्ने भएपनि लम्बाई र लागत भने केही बढने भएको छ । द्रुतमार्गमा ९० वटा पुल बन्ने छन् । यसअघि द्रुतमार्गमा ९९ वटा पुल निमार्ण गर्न प्रस्ताव गरीएको थियो । यस्तै, द्रुतमार्गको लम्बाइ यसअघि ७६ दशमलव २ किलोमिटर प्रस्तावित गरीएकोमा सुरुङ मार्गको संख्या बढेपछि अब ७२ दशमलव ५ किलोमिटरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्