‘बुद्धिष्ट सर्किट्स’मा विश्व बैंकले सघाउने «

‘बुद्धिष्ट सर्किट्स’मा विश्व बैंकले सघाउने

नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदाहरूलाई एकीकृत बुद्धिष्ट सर्किट्स गन्तव्यका रूपमा विकास र प्रबद्र्धन गर्न विश्व बैंकले सहयोग गर्ने भएको छ । बैंकले नयाँ दिल्लीस्थित कार्यालयमा मंगलबार यस क्षेत्रका सरोकारवालाहरूको बैठक आयोजना गरेर यो जानकारी दिएको हो ।
नेपाल र भारतका बौद्ध सम्पदाहरू जोडेर सीमापार बुद्धिष्ट सर्किट्स पर्यटनको प्रबद्र्धन गर्दै आएका बिक्रम पाँडेले बैठकमा नेपालको प्रतिनिधित्व गरेका थिए । पाँडेले बुद्धिष्ट सर्किट्स पर्यटनमार्गमा उपलब्ध सुविधाहरूका साथै अफ्ठ्याराहरूका सम्बन्धमा सहभागीलाई अवगत गराए । विश्व बैंक दक्षिण एसियाको लागि संस्कृतिक सम्पदा तथा सहभागितामूलक पर्यटन विकासको वरिष्ठ विकास योजनाकार स्टेफेनी अबकेर्लीले विश्व बैंकले बुद्धिष्ट सर्किट्समा क्रियाशील निजी क्षेत्र र सरकारी संयन्त्रबीच सहजकर्ताको भूमिका खेल्ने बताइन् । विश्व बैंकलाई सरकार र बुद्धिष्ट सर्किट्समा आवद्ध व्यवसायीबीच सेतुको रूपमा काम गरी त्यहाँ रहेका अफ्ठ्याराहरू सल्टाइ भगवान बुद्धको जीवनसँग आवद्ध ऐतिहासिक धरोहरहरूमा पर्यटकको आवागमन सहज बनाउन आवश्यक भूमिका खेलिदिन पाँडेले आग्रह गरेका थिए ।
भारतका सरोकारवालाहरूले आफ्नो देशका बौद्ध सम्पदाहरूमा पर्यटकीय गतिविधि सञ्चालन गर्दा आइपरेका अफ्ठ्याराहरू बारे बैठकलाई जानकारी दिए । बुद्धिष्ट सर्किट्स पर्यटन गतिविधिप्रति भारत सरकारको रवैया त्यति सन्तोषजनक नभएको भन्दै उनीहरूले यस क्षेत्रमा पर्यटनको दिगो विकास गर्न भारत सरकारको रवैया परिवर्तन हुनुपर्ने बताए । भारतको बिहारस्थित नालन्दा विश्वविद्यालयका प्राध्यापक डा रवीन्द्र पन्थले बुद्धिष्ट सर्किट्स पर्यटनको प्रबद्र्धन र विकासमा भारत सरकारबाट पाइराखेको सहयोग अपर्याप्त भएको बताए ।
लुम्बिनी विकास कोषका सद्भावना राजदूतसमेत रहेका पाँडेले बुद्धिष्ट सर्किट्समा क्रियाशील निजी क्षेत्र र सरकारी संयन्त्रलाई एकै ठाउँमा ल्याइ बुद्धिष्ट सर्किट्स गन्तव्यहरूमा रहेका मानिसहरूलाई आर्थिक फाइदा हुने कार्यक्रम सञ्चालन गर्ने अर्थपूर्ण र आध्यात्मिक प्रयासका लागि विश्व बैंकलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्