घरेलु कामदार महिलालाई श्रम स्वीकृति बन्द «

घरेलु कामदार महिलालाई श्रम स्वीकृति बन्द

“नेपालीहरूको ठूला चाडपर्व अनि कहिलेकाहीं घर परिवारको सम्झना आउँदा सामान्य फोन गरेर मात्र हामीले चित्त बुझाउने गरेका छौं ।” यो भनाइ हो खाडी मुलुकमा घरेलु कामदारको रूपमा रोजगार गर्न पुगेकी नेपाली चेली शान्ता घिमिरेको ।
आफ्नो काममा आफू खुसी हुँदाहुँदै र रोजगारदाताले आफ्नो जन्मभूमि र घर परिवारसमक्ष जानका लागि अनुमति दिंदादिंदै पनि नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारको रूपमा रहेको भन्दै भिसा नदिने गरेकाले आफूजस्ता हजारौं नेपाली महिलाहरू ठूलो समस्यामा पर्ने गरेको घिमिरेले बताइन् । उनले भनिन् “खाडी मुलुक दुबईमा घरेलु कामदारको रूपमा हाल काम गर्दै आए पनि नेपाल गएर पुनः दुबई फर्किने वातावरण छैन, त्यस कारण हामी बाध्य भएर विदेशमै रुँदै काममा लागेका छौं ।”
५/६ वर्ष काम गरेका घरेलु कामदार महिलालाई पनि किन यसरी खाडी मुलुकमा आउन रोकिन्छ भन्दै उनले राज्यलाई प्रश्न गरेकी छन् । आफूहरू राम्रो भएको कारणले गर्दा एकै ठाउँमा ५/६ वर्षसम्म काम गरेको अनुभव उनले सुनाइन् । उनले भनिन् “आफूले चाहेको समयमा जन्मभूमि जान पनि नपाउने हामीले कस्तो अपराध गरेका थियौं, अब हामीलाई राज्यले विदेशमै तड्पाई तड्पाई कहिलेसम्म राख्ने हो, नेपाल फर्किए पुनः दुबईमा आउन पाइँदैन, भएको यही सानो रोजगारले गर्दा घर चलेको छ ।”
नेपाल सरकारले एउटा बाटोबाट घरेलु कामदार महिलालाई रोके पनि दलालहरूले भारतको बम्बै र दिल्लीबाट समेत नेपाली घरेलु कामदार महिलाहरू खाडी मुलुक पु¥याउने गरेको घिमिरेले बताइन् । घरेलु कामदार श्रमिक महिलाहरू नेपाल फर्किए पनि राज्यले पुनः पहिला काम गरेको अवस्थामा फर्किन नदिएको कारण उनीहरू समस्यामा परेका हुन् । आफूहरूले बल्लतल्ल पाएको उक्त रोजगारबाट आफ्नो घरपरिवार चल्दै आएको अवस्थामा नेपाल फर्किए नेपालमा रोजगारी नपाउने भएकाले आफहरू विदेशमै रुँदै काम गर्नु परेको घिमिरेले गुनासो गरिन् । उनले भनिन् “हामीले दशैं तथा तिहारजस्ता चाडपर्वहरू मनाउँदा फोन गर्ने र घर सम्झँदै रुँदै बस्ने हो ।” घरमा काम गर्ने महिलालाई कामको समय निश्चित नहुने र केहीले त मालिकको ज्यादती समेत सहनु पर्ने अवस्था रहेको छ ।
अर्घाखाँची घर भएकी घिमिरे नेपाली महिला विभाग युएईका अध्यक्ष समेत हुन् । दुबईमा पीडित भएका घरेलु कामदार महिलाहरूलाई उद्धार गर्न आफूहरू लागिपरे पनि राज्यले आफूहरूलाई नै बन्धक बनाएको घिमिरेले गुनासो गरिन् । राज्यका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई विदेशबाट फोन गर्दा समेत फोन नउठाउने गरेको उनले दुखेसो पोखिन् । घिमिरे जस्ता हजारौं घरेलु कामदार महिलाहरूले यो भन्दा अझ विकराल समस्या भोगिरहेका छन् । आफूहरूलाई अवस्था हेरी पहिला काम गरेको ठाउँमा फर्किने वातावरण मिलाउन नेपाली राजदूतावास अबुधावी दुबईमा पटक पटक माग गर्दै आए पनि राज्यले कुनै ठोस निर्णय दिन नसकेको उनले जनाइन् ।
नेपाली महिलाहरू पछिल्लो समयमा डान्सबारमा समेत रहेका छन् । राज्यले खाडी मुलुकमा काम गर्दै आएका घरेलु महिला कामदारलाई सहज ढंगले नेपाल जान र आउने वातावरण जबसम्म सृजना गर्न सक्दैन तबसम्म केही महिलाहरू कुलतमा समेत फस्न सक्ने घिमिरेले जनाइन् । नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार महिलालाई श्रम स्वीकृतिमा पूर्ण बन्द गरेसंगै प्रवासमा रहेका हजारौं घरेलु नेपाली कामदार महिला ठूलो मर्कामा परेका हुन् ।
नेपाल पत्रकार महासंघ दुबईका अध्यक्ष भूपराज बस्यालले नेपालका नेता, मन्त्री हुँदै प्रधानमन्त्रीहरूको उच्चस्तरीय भ्रमणको समयमा घरेलु कामदार महिलाहरूलाई भिसा दिने विषयमा महत्त्वका साथ स्थान पाए पनि उनीहरू स्वदेश फर्किएसंगै सबै कुरा भुल्ने गरेको दाबी गरे । यस विषयमा विभिन्न राजनीतिक दलका भातृ संगठन तथा विभिन्न संघ संस्थाहरूले राज्यलाई ध्यानाकर्षण गराउँदै आए पनि हालसम्म सुनुवाइ नभएको उनले जनाए । घरेलु कामदार महिलाहरूको अवस्था हेरी दूतावासको सिफारिसको आधारमा पनि राज्यले भिसा दिनुपर्नेमा उनले जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्