Logo

पहिलो ‘स्मार्ट भिलेज’ बन्दै घलेगाउँ

स्मार्ट भिलेज अवधारणासहित अघि बढेको सार्क राष्ट्रकै नमुना लमजुङको ग्रामिण पर्यटकीय घलेगाउँले व्यावसायिक पर्यटन शुरु गरेको २० वर्ष भएको छ । महोत्सव आयोजना गरेर नै व्यवसायिक पर्यटन शुरु गरेको घलेगाउँले साविकका वर्षहरूमा झैँ २० आँै घलेगाउँ महोत्सव सम्पन्न गरेको छ ।


घलेगाउँ महोत्सव अन्य स्थानमा आयोजना गरिने व्यावसायिक मेला जस्तो भने होइन । परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धनको निम्ती वर्षकै ठूलो पर्वको रुपमा घलेगाउँ महोत्सव मनाउने गरिन्छ । घलेगाउँको विकास, स्थानियको आर्थिक समृद्धिका लागि वर्षमा एक पटक महोत्सव आयोजना गर्ने गरिएको छ ।

२०५७ सालबाट ग्रामिण पर्यटनको कदम चालेको घलेगाउँले २० वर्षको अवधिमा धेरै फड्को मारेको छ । नेपालकै उत्कृष्ट होमस्टेदेखि दक्षिण एसियाकै नमूना घलेगाउँको उपमा पाएको घलेगाउँले पर्यटकहरूलाई थप आकर्षण गर्न र पर्यटनबाट नै समृद्धिको अभियान शुरुवात गर्न गाउँलाई स्मार्ट भिलेजको रुपमा प्रवद्र्धन थालेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताए ।

“घलेगाउँ नेपालमा भएका अन्य गाउँहरू भन्दा फरक गाउँ हो,” अध्यक्ष घलेले भने, “हरेक पटक हामी पर्यटकहरूलाई नयाँ स्वाद दिन्छौँ, त्यसैले अब घलेगाउँलाई हामी स्मार्ट भिलेजको रुपमा विकास गर्दैछौँ ।”

हजाराै आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परेको घलेगाउँको प्राकृतिक एवं सांस्कृतिक सम्पदासँगै पूर्वाधारहरूको विकास गरी गाउँलाई स्मार्ट भिलेजको रुपमा विकास गर्न थालिएको छ । घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा विकास गर्न पूर्वाधार निर्माणको क्रमलाई पनि शुरु गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताए ।

व्यावसायिक ग्रामिण पर्यटनको दुई दशक लामो अनुभव लिएको लमजुङको घलेगाउँले २० औँ घलेगाउँ महोत्सव मनाएको छ । नेपालको उत्कृष्ट होमस्टे तथा दक्षिण एसियाकै नमुना गाउँको रुपमा ख्याति कमाएको घलेगाउँ २० औँ वसन्त पार गर्दैगर्दा ‘स्मार्ट भिलेज’ को अवधारणासहित अघि बढेको छ ।

 
“गाउँमा रहेका सबै घरका छानाहरूमा एउटै (रातो) रंगको टिनको छाना हालिएको छ,” विकले भने, “स्मार्ट भिलेजका न्यूनतम मापदण्ड पूरा गर्ने क्रममा प्रत्येक घरमा इन्टरनेट सेवा, तातो र चिसो पानी सहितको बाथरुम, रुमभित्रै जोडिएका व्यवस्थित शौचालयको व्यवस्थापन गरिसकिएको छ,” उनले भने । स्मार्ट भिलेजको रुपमा प्रवद्र्धन गर्न घलेगाउँका १२० घरमा एउटै रंगको छाना, प्रविधिमैत्री गाउँको रुपमा भौतिक निर्माण शुरु गरिएको छ । स्मार्ट भिलेजको रुपमा प्रवद्र्धन गर्न घलेगाउँ पर्यटन व्यवस्थापन समिति, तारागाउँ विकास समिति, स्थानीय सरकार, प्रदेश सरकारको विशेष सहयोग रहेको छ । थप व्यवस्थापनको लागि संघीय सरकारसँग पनि पहल गरिने घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

पर्यटकहरूको आगमन वृद्धि भएसँगै स्थानियको आयआर्जन निकै सुधार भएको छ । प्रतिपरिवार मासिक २५ हजारदेखि ६० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । पर्यटकको आगमनले स्थानीयहरू निकै उत्साहित छन् । स्मार्ट भिलेजको रुपमा विकास गरेपछि पर्यटकहरूको आगमन थप बढ्ने स्थानियको विश्वास छ ।

“हिजो हामीलाई नुन चिनी किन्न पनि धौ–धौ थियो,” स्थानिय यमुना घलेले भनिन्, “अहिले विदेश गएकाहरूले भन्दा हामी गाउँमै बसेकाहरूले धेरै आम्दानी गछाँै ।” दक्षिण एशियाकै नमूना गाउँ, नेपालकै उत्कृष्ट होमस्टे जस्ता उपाधिहरूले घलेगाउँ पटक पटक पुरस्कृत भएको छ । घलेगाउँले पाएको ख्यातीसँगै प्राकृतिक सुन्दरता, स्थानिय संस्कृतिको देश विदेशमा प्रचार प्रसार भएको स्थानियको अनुभव छ । त्यहि सुन्दरताको थप प्रचार प्रसार र कला संस्कृतिको जगेर्ना र गाउँगाउँमा समृद्धिको अनुभूतिको लागि पनि स्मार्ट भिलेज धारणा आवश्यक रहेको स्थानिय पर्यटन व्यवसायीहरू बताउँछन् ।

 

पर्यटक आगमन बढ्दो
नेपाल सरकारले मुलुकभरका एक सय पर्यटकिय गन्तव्य घोषणासँगै घलेगाउँ पुग्ने पर्यटक बढेका छन्् । दैनिक पाहुनाहरूको भिड बढेपछि व्यवस्थापन गर्न हम्मेहम्मे भएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दिर्घ घलेले बताए । घलेगाउँ पर्यटन विकास समितिका अनुसार चालू आर्थिक वर्षमात्रै घलेगाउँमा १६ हजार बढि पर्यटक पुगेका छन् । चालू आर्थिक वर्षको साउनादेखि चैत्र मसान्तसम्मको तथ्यांकअनुसार घलेगाउँमा १६ हजार आठ सय पर्यटक घलेगाउँ पुगेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताए ।
समितिका अनुसार २०५७ सालदेखि हालसम्म घलेगाउँमा एक लाख ६३ हजार चार सय दुईजना पर्यटक घलेगाउँ पुगेका छन् । सो मध्ये पाँच हजार छ सय ६५ जना विदेशी पर्यटक रहेका छन् । घलेगाउँमा २०६४ सालबाट मात्रै विदेशी पर्यटकहरू आउन थालेका हुन् । घलेगाउँमा व्यावसायिक पर्यटन शुरु भएको पहिलो वर्ष २०५७ मा जम्मा ६२ जना पर्यटक घलेगाउँ पुगेका थिए ।


घलेगाउँमा होमस्टे, स्थानिय उत्पादन, प्राकृतिक दृष्यावलोकन र गुरुङ संस्कृति अवलोकन तथा अनुभवका लागि पर्यटकहरू पुग्ने गर्दछन् । विदेशीसँगै नेपाली विद्यार्थी, शिक्षक, प्रकृतिप्रेमी, साहित्य तथा कला क्षेत्रमा रुचि भएकाहरू साथै विभिन्न ग्रामिण भेगका आमा तथा बाबा समूहहरू घलेगाउँमा पुग्ने गरेका छन् । पछिल्लो समय पर्यटकिय सम्भावना भएका नयाँ गन्तव्यका प्रवद्र्धकहरू सिकाईका लागि पनि घलेगाउँ पुग्ने गरेको पाईएको छ ।

घलेगाउँ समुद्री सतहदेखि २१ सय मिटरको उचाईमा पर्दछ । सदरमुकाम बेंसीशहरबाट सवारी साधनमा साढे २ घण्टा र पैदल जान चाहनेका लागि ५ घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा निकै बृद्धि भएको छ ।
जिल्लाका पर्यटकीय गाउँहरूमा बाह्य भन्दा आन्तरिक पर्यटकहरू धेरै आएको पाइएको छ । एसियाको नमुना घलेगाउँमा वार्षिक २५ हजार भन्दा बढि स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन् । गाउँ आएका पर्यटकमध्ये अधिकांश आन्तरिक पर्यटक रहेको घलेगाउँ ग्रामिण पर्यटन विकास समितिले जनाएको छ ।

घलेगाउँमा पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकिय संग्रहालय निर्माण गरिएपछि संग्रहालय हेर्ने पर्यटकको ओइरो लागेको छ । संग्रहालयमा स्थानिय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तुहरू निर्माण गरिएको छ । संग्रहालयमा गुरुङ संस्कार अन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधी तथा सामग्रीहरू राखिएको छ । त्यहि संस्कार संस्कृति हेर्न तथा अध्ययन गर्नका लागि पनि देशविदेशका पर्यटकहरू घलेगाउँ पुग्ने गरेका स्थानीय गंगा घलेले बताए ।

“संग्रहालय गुरुङ संस्कार र संस्कृतिको खुला विद्यालय हो, यहाँबाट पर्यटकहरूले हाम्रो संस्कार र संस्कृतिको बारेमा सजिलै थाहा पाउनेछन्,” घलेले भने । यसैगरी घलेगाउँमा गरिएको चियाखेती राम्रोसँग फस्टाउनुको साथै पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ । २०५७ सालबाट शुरु गरिएको चियाखेतीबाट स्थानीयले मनग्य आम्दानी लिनुको साथै चिया वगानले पर्यटकलाई समेत आकर्षण गरेको हो । करिब १८ वर्ष पहिले दुई सय रोपनी पाखोबारीमा लगाईएको चिया खेती अहिले चार सय रोपनीमा विस्तार भएको छ । “अर्गानिक चिया उत्पादनबाट स्थानियले मनग्ये आम्दानी त गरेका छन् नै, चिया वगानले पर्यटकहरूलाई समेत आकर्षण गरेको छ,” घलेगाउँ ग्रामिण पर्यटन समितिका उपाध्यक्ष गमबहादुर गुरुङले भने ।

घलेगाउँमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू मनोरञ्जनको लागि चियाबारी पुग्ने गर्दछन् । पछिल्लो समय चियाबारी हेर्नकै लागि पनि घलेगाउँमा पर्यटक पुग्ने गरेका छन् । घलेगाउँको चिया बगानले इलामको झल्को दिनुको साथै गाउँमा पुगेको बेला अर्गानिक चियाको स्वाद लिन पाउदा पर्यटकहरू खुशी हुने गरेका छन् ।

घलेगाउँको प्राकृतिक सुन्दरता, गाउँमा आएका पाहुनाहरूलाई गरिने स्वागत सत्कार, स्थानिय संस्कृति र व्यवस्थित होमस्टेले आफूहरूलाई प्रभावित बनाएको पर्यटकहरू बताउँछन् । घलेगाउँमा पुगेका पाहुनाहरूलाई स्थानिय आमा समूहहरूले आफ्नै संस्कृतिअनुसार स्वागत र विदाई गर्छन् ।

प्रतिक्रिया दिनुहोस्