‘नदी कटान रोक्न नदीसम्बन्धी छुट्टै ऐन चाहियो’ «

‘नदी कटान रोक्न नदीसम्बन्धी छुट्टै ऐन चाहियो’

नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की, आछामीले नदी कटान रोक्नका लागि नदीसम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद आछामीले नदीहरूमा अनावश्यक र अवैधानिक ढंगले उत्खनन् भएको बताए । उनले गिट्टी, बालुवा निकालेर सीमित मानिस धनी हुने तर खेतीयोग्य जमिन र घरहरूमा नोक्शान हुने भएकाले यसलाई नियन्त्रण गर्नका लागि नदी ऐनको व्यवस्था हुनुपर्ने बताए । उनले आपतकालीन नदी नियन्त्रणमा बजेट शून्य भएको भन्दै आपतकालीन नदी नियन्त्रण कोषमा बजेटको व्यवस्था गर्न माग गरे ।
उनले विराटनगर विमानस्थल निर्माणका लागि विगत दुई वर्षदेखि करिब एक हजार २ सय ६७ कित्ता जमिन रोक्का गरिएको र हालसम्म निर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन नभएकाले रोक्का गरिएको जमिन फुक्का गर्न माग गरे । उनले स्थानीय तहमै मतदाता नामावली संकलनको काम गर्न पनि माग गरे । सांसद आछामीले काठमाडौंको सडकमा व्यापार गरेर जीविका चलाइराखेका नागरिकको व्यवस्थापनमा नेपाल सरकारले ध्यान दिनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्