राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार पाँच सय ८० रुपैयाँ ४८ पैसाको चेक हस्तान्तण गरेको छ ।
गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई सो चेक हस्तान्तण गरेका हुन् । संघका उपाध्यक्ष महेशकुमार श्रेष्ठले विश्वभरका नेपालीहरूले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी दिए ।

डा. महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले विदेशबाट ९२ देखि ९४ प्रतिशत सामग्री नेपालमा आयात हुँदा धेरै रकम विदेशमा जाने भएकोले त्यसको पाँच प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने बताए । त्यस्तै, रोजगारीको सृजनासमेत बढ्ने उनले विश्वास व्यक्त गरे ।
राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका र प्रदेशमा खोलिनु पर्ने जोड दिए । गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने बताए ।
संघका कार्यकारी अध्यक्ष आचार्यले विभिन्न अभियन्ताहरूबाट प्रतिबद्धता गरिएको रकममध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।
विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले आविष्कार केन्द्रलाई सहयोग गर्न तयार रहेको बताए ।