ठोरी गाउँपालिकाको बजेट २५ करोड

पर्साको ठोरी गाउँपालिकाको गाउँसभा सोमबार सम्पन्न भएको छ । सभाले आव ०७४/७५ का लागि विनियोजन गरेको २४ करोड ८७ लाख ६२५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
ठोरी गाउँपालिका–२ स्थित ठोरी हेल्थपोस्टको परिसरमा आयोजित सभामा प्रस्तुत गरिएको बजेटमा भौतिक, सामाजिक, आर्थिक स्तरोन्नति गर्दै प्रत्येक नागरिकको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि गर्ने पञ्चवर्षीय रणनीतिक योजना प्रस्तुत गरेको छ । शिक्षा, स्वास्थ्य पशु, सीमा विकास, सामाजिक सुरक्षा भत्ता, बाटोघाटो, बैंक तथा वित्तीय संस्थाको व्यवस्था, गाउँपालिकाको प्रत्येक एक घरबाट एक जनालाई रोजगारीको व्यवस्था गर्ने लगायतका योजना सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०७५ बाट विद्यालयमा कक्षा १ देखि १० सम्म अंग्रेजी भाषामा अध्यापन गराइने, कृषकका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने, गत साउनमा आएको बाढीबाट पीडितलाई क्षतिपूर्तिको व्यवस्था, वृद्धावृद्धाका लागि वृद्धाआश्रम, गाउँपालिकामा निःशुल्क रूपमा इन्टरनेटको व्यवस्था गर्ने भएको छ ।
त्यसैगरी दीर्घकालीन रूपमा पूर्वाधार विकासमा जोड दिने, आधुनिक कृषि प्रणालीको विकास गरी बजारीकरण तथा विस्तार, पर्यटकीय गन्तब्यको पहिचान तथा विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिने, शिक्षालाई पहँुचयोग्य तथा गुणात्मक बनाई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउने लगायतका नीति तथा कार्यक्रमसहितको योजना प्रस्तुत गरेको छ । परिषद्ले नदी नियन्त्रण, जंगली जनावर नियन्त्रण, सडक निर्माण, खानेपानी, पोषण, सीपमूलक तालिम, पशुपालनका क्षेत्रलाई समेत समेटेर बजेट प्रस्तुत भएको प्रवक्ता रामप्रकाश कुवँरले बताए । त्यस्तै गाउँपालिकाका लागि स्थानीय विकास मन्त्रालयबाट १५ करोड १५ लाखको बजेट उपलब्ध भएको जनाइएको छ । कार्यक्रम ठोरी गाउँपालिकाका प्रमुख पीएल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।