Logo

भेरी–बबईको सुरुङ एक वर्ष अगावै पूरा

१७ महिनामा टीबीएमले खन्यो १२ हजार २ सय मिटर

नेपालगन्ज-बाँके र बर्दियाका लागि बहुप्रतिक्षित राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ खन्ने कार्य लक्ष्यभन्दा एक वर्ष अगाडि नै पूरा भएको छ । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ खन्ने कार्य सुरु गरेर १७ महिना अवधिमा १२ हजार २ सय मिटर सुरुङ खनेर सो कार्य पूरा गरिएको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले जनाएको छ ।
वि.सं. २०७४ साल कात्तिक २० गतेबाट टीबीएमद्वारा सुरुङ खन्न सुरु गरिएको र सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकोमा एक वर्ष पहिले नै सुरुङ खन्ने कार्य पूरा गरिएको आयोजना प्रमुख सञ्जीव बरालले बताए ।
दैनिक ३० मिटरको हाराहारीमा सुरुङ खन्ने कार्य हुँदै आएको जनाउँदै उनले सुरुङ निर्माण कार्यमा करीब ७ सय नेपाली र ८० चिनियाँ कामदार चौविसै घण्टा खटिएका कारण पनि छिटो काम पूरा भएको जनाए ।
आगामी वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सुरुङको ब्रेक थ्रु गर्ने कार्यक्रम तय गरिएको जनाउँदै आयोजना प्रमुख बरालले ब्रेक थ्रुपछि अन्य कार्यहरूमा पनि तिव्रता दिइने जनाए । सो सुरुङ निर्माणका लागि हालसम्म सात अर्ब रूपैयाँ खर्च भएको जनाउँदै उनले आयोजनाको टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायतका काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड रुपैयाँ खर्च हुने बताए ।
चुरे पहाडमा टीबीएम मेसिनको सफलतासँगै नेपालमा मेट्रो रेल, हाइड्रो पावरलगायत फास्ट ट्र्याक निर्माण कार्यमा समेत सफलता पाउने देखिएको छ । चुरे क्षेत्रमा परम्परागत तरिकाबाट सुरुङ निर्माण गर्नु खतरनाक मानिन्छ । सोही कारणले भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्न मेसिनको प्रयोग गरिएको आयोजनाले जनाएको छ ।
चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माणको जिम्मा लिएको थियो । अत्याधुनिक कम्प्युटरचालित उक्त मेसिन खरीदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरूप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने शर्त राखेको थियो । शर्तअनुसारै उत्पादक कम्पनीले आयोजनास्थलमै आएर २ सय ५० मिटर लामो मेसिन जडान गरेको थियो ।
डाइभर्सन हेडवक्र्सबाट बबईमा पानी खसाएर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी योजना छ । त्यसका लागि जलविद्युत् गृह र अन्य सम्बन्धित संरचना निर्माण भइरहेका छन् । उक्त आयोजना सम्पन्न भए विद्युत् उत्पादनसँगै बाँके र बर्दियामा ५१ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पुग्ने जनाइएको छ । भेरीबाट सुरुङमार्फत बबई नदीमा खसाएको पानीबाट ४८ मेगावाट क्षमताको विद्युतीय पावर हाउस निर्माण गर्ने तयारी पनि सुरु गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाका प्रमुख बरालले हेडवक्र्स र पावर हाउस निर्माण सुरु गरिने प्रक्रिया समेत अगाडी बढीसकेकाले चाँडै निर्माण कार्य सुरु गरिने बताए । उनले यो आयोजना नेपालकै लागि उदाहरण र नमुना बन्ने दावीसमेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्