लमजुङमा १७ वटा मतदान केन्द्र थपिए

आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि लमजुङमा १७ वटा मतदान केन्द्र थपिएका छन् । निर्वाचन आयोगले जारी गरेको मतदाता एवं मतदानस्थल विवरणअनुसार जिल्लामा साविककै मतदान स्थलमा थप १७ वटा मतदान केन्द्र कायम भएको हो ।
आगामी स्थानीय तह निर्वाचनका लागि विभिन्न स्थानीय तहमा गरी एकसय २३ मतदान स्थलमा एक सय ८२ मतदान केन्द्र कायम भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लामा सोही मतदानस्थलमा १ सय ६५ मतदान केन्द्र कायम भएको थियो । सोही वर्ष भएको स्थानीय तह निर्वाचनमा भने १ सय २३ मतदान स्थलमा १ सय ५५ मतदान केन्द्र रहेका थिए ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेसँगै जिल्लाबाट एकसय २३ मतदानस्थल र एक सय ८७ मतदान केन्द्र पनि सिफारिस भएको थियो । मतदाता संख्याको आधारमा केन्द्र कायम हुनेगरी सिफारिस गरीएपनि निर्वाचन आयोगले भने १ सय ८२ मतदान केन्द्र कायम गरी पठाएको निर्वाचन कार्यालय लमजुङकी प्रमुख सिर्जना मिश्रले बताइन् ।
जिल्लामा कायम भएका मतदानस्थल र केन्द्रमध्ये सबैभन्दा धेरै बेंसीसहरमा छन् । बेंसीसहरमा मात्रै २१ मतदान स्थलमा ३५ मतदान केन्द्र कायम भएको छ । त्यसैगरी मस्र्याङ्दी गाउँपालिकामा भने २० वटा मतदानस्थलमा २४ वटा मतदान केन्द्र कायम भएको पाइएको छ ।
त्यसैगरी मध्यनेपाल नगरपालिकामा १८ वटा मतदानस्थलमा २६ वटा मतदान केन्द्र कायम भएको छ भने सुन्दरबजार नगरपालिकामा १६ वटा मतदानस्थलमा २९ वटा मतदान केन्द्र कायम भएको छ । त्यसैगरी जिल्लाको राईनास नगरपालिकाम १२ वटा मतदानस्थलमा २० वटा मतदान केन्द्र कायम भएको छ भने दूधपोखरी र क्होलासोँथार गाउँपालिकामा १०÷१० वटा मतदानस्थल कायम भएका छन् ।
दूधपोखरीमा मतदान केन्द्र १२ वटा कायम भएको छ भने क्होलासोँथारमा १३ वटा मतदान केन्द्र कायम भएका छन् । त्यसैगरी जिल्लाको दोर्दी गाउँपालिकामा भने १६ वटा मतदानस्थलमा २३ वटा मतदान केन्द्र कायम भएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
१६ हजार मतदाता बढे
लमजुङमा १६ हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाताको अन्तिम नामावली विवरणअनुसार जिल्लामा १६ हजार ४५ जना नयाँ मतदाता थपिएका हुन् ।
२०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा जिल्लामा १ लाख १५ हजार चारसय ४९ जना मतदाता रहेका थिए । हाल निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा १ लाख ३१ हजार चारसय ९४ जना मतदाता कायम भएको छ । यसअघि भएको स्थानिय तह निर्वाचनमा भने जिल्लामा १ लाख ५ हजार ९ सय ९२ मतदाता थिए ।
जिल्लाको विवरणअनुसार सबैभन्दा धेरै मतदाता सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा छन् । बेंसीसहरमा मात्रै १२ हजार चार सय ९१ पुरुष र १३ हजार सातसय १६ महिला सहित २६ हजार दुई सय सात मतदाता कायम भएको पाईएको छ ।
त्यसैगरी जिल्लामा सबैभन्दा कम मतदाता दुधपोखरी गाउँपालिकामा रहेका छन् । दूधपोखरीमा ४ हजार ५ सय सात पुरुष र ४ हजार ३ सय ८१ महिला सहित आठहजार, आठसय ८८ मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय लमजुङले पछिल्लो अद्यावधिकमा मात्रै ९ हजार ६ सय ३० मतदाताको नामावली निर्वाचन आयोगमा पठाएको थियो । सो बाहेक मतदाता नामावली अद्यावधिकका लागि दिएको समय सीमामा परेका निवेदन वा उजुरीको आधारमा जिल्लाबाट १हजार ३ सय एक जनाको नाम हटाउनका लागि सिफारिस गरेको कार्यालयले जनाएको छ ।
यसअघिको निर्वाचन पश्चातको अवधीमा बसाइँसराइ वा विवाह भएर अन्यत्र गएका, दोहोरो नाम भएका र मृत्यु भएकाहरूको नामावली हटाउनको लागि आयोगमा सिफारिस भएको निर्वाचन कार्यालय लमजुङका सुचना अधिकारी जिवाखर शर्माले जानकारी दिए ।
मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता स्थगित हुने गर्दछ । मतदाता नामावलीमा नाम दर्ता भई १८ वर्ष उमेर पूरा भएको व्यक्तिमात्र आगामी निर्वाचनमा मतदाता हुन सक्नेछन् ।