Logo

नदी किनारकै गाउँमा खानेपानी समस्या

तेह्रथुम-स्थानीय निर्वाचन भएको दुई वर्ष बित्यो । जनताको समस्या ज्यूँका त्यूउँ नै छ । चुनावको बेला जनप्रतिनिधिहरूले दिएको आश्वासन पूरा गर्न नसक्दा जनताको समस्या उस्तै छन् । ठूलाठूला महत्वकांक्षी योजना निर्माण हुन्छन् तर गाउँको सानातिना समस्यामा ध्यान नपुग्दा जनताका गुनासा पनि उत्तिकै आउन थालेका छन् ।
तमोर नदीसँगै जोडिएका गाउँमा सुक्खायाम सुरु भएसँगै बर्सेनि खानेपानीको समस्या हुँदै आएको छ । छथर–५ ओख्रे लामकटेरीको दलितबस्ती पनि खानेपानीको समस्याले ग्रसित बन्दै आएको छ । स्थानीय खोलामा रहेका पानीको मुहान सुकेसँगै यहाँका दलितको समस्या झनै जटिल बन्दै आएको स्थानीय ५८ वर्षीया रामकुमारी रोक्काले बताइन् । वृद्ध श्रीमान् र कान्छा छोराको साथमा रहेकी रामकुमारीलाई हरेक बिहानीसँगै पानीको जोहोको चिन्तामै समय बित्ने गरेको बताउँछिन् । उनी भन्छिन्, “छिमेकीको घरमा पानी आउँछ तर हामी ३ घर दलितकोमा चाँहि आउँदैन, चुनाव आउँदा पानी दिन्छौं भन्थे अहिलेसम्म दिएका छैनन् ।” उनीजस्तै खड्कबहादुर तोलाङगीको पनी समस्या उस्तै छ ।
यहाँका दलितहरूले छथर–६ सुदापमा रहेको गोर्खेधाराबाट एक बिहानमा एक ग्रागी पानी बोकेर खानुपर्ने बाध्यता छ । खानेपानीको समस्याले बर्सेनि बसाइँ सर्ने क्रम बढ्दो रहेको छथर गाउँपालिकाको यी दलितको समस्यामात्र नभई सुक्खाग्रस्त क्षेत्रका नागरिकको पहिलो समस्या नै खानेपानी बनेको छ । खासगरी गाउँपालिकाको फाक्चामारा, ओख्रे, पञ्चकन्याका नागरिक खानेपानीको समस्याले बर्सेनि पिरोलिँदै आएका छन् । गाउँपालिकाले यहाँको स्थानीयको समस्या समाधानका निम्ती डिपबोरिङ प्रविधिबाट लाखौं रुपैयाँ खर्चेर पानी निकाले पनि समस्याको समाधान अझै हुन सकेको छैन ।
यहाँको समस्या समाधानका निम्ती गाउँपालिकाले २ लाख १६ हजार बराबरको ट्यांकी निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । साथै प्रत्येक वडामा मिटर जडान गरी सबै वडामा मिटर जडान गरी ट्यांकीबाट पानी वितरणको तयारी भइरहेको अध्यक्ष तिगेलाले बताए । जलवायु परिर्वतनका कारण यहाँका स्थानीय मुहान सुक्न थालेसँगै नागरिकलाई खानेपानी तथा सिँचाइ गर्नसमेत सकस भएको छ । बोटबिरुवा सुकेर उराठ लाग्दो देखिन थालेको छ । यहाँ पुग्ने जो कोहीको मन कुडिनु स्वाभाविक झै बन्न थालेको छ । घरपालुवा पशुपक्षीलाई पानी खुवाउन घण्टौ हिँडेर तमोर नदीमा पु¥याउनुको कुनै विकल्प नै नभएको स्थानीयवासी बताउँछन् । यहाँका स्थानीयको समस्या समाधानका निम्ती स्थानीय सरकारले दीर्घकालीन योजना निर्माण गरी खानेपानी ब्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छथर–५ का टेकराज तिगेलाले बताए । गाउँको समस्यालाई पहिलो प्राथमिकतामा राखेर योजना निर्माणमा जनप्रतिनिधि जुट्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्