Logo

लगानी सम्मेलनमा दोलखाका २ आयोजना

तामाकोसी तेस्रो परेन

दोलखा-सरकारले लगानी गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा दोलखाका २ आयोजना समावेस गरेको छ । सम्मेलनमा लगानी बोर्डले लाँकुरीडाँडाको डांडुगे डाँडामा प्रस्तावित फिल्म सिटी र रोल्वालिङमा साहसिक शिक्षालय बनाउने प्रस्ताव गर्ने तयारी गरेको छ ।
बोर्ड बैठकले यही चैत १५ र १६ गते हुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३ आयोजना प्रस्तुत गर्ने निर्णय लिएको हो । लगानी गर्न तयारी अवस्थामा सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई छानेको छ । सम्मेलनका लागि दोलखाको सरकारी स्तरबाट फिल्म सिटी र साहसिक शिक्षालय प्रस्ताव गरेको हो ।
आयोजना विस्तृत प्रतिवेदन तयार भई सडक, खानेपानी, विद्युत्जस्ता पूर्वाधारको काम भइरहेको फिल्म सिटीलाई सरकारी स्तरबाट चौथो नम्बरमा प्रस्ताव गरेको छ । फिल्म सिटीका लागि २ अर्ब ७५ करोड लाग्ने अनुमान गरेको छ । यो फिल्म सिटी भीमेश्वर नगरपालिका–९ मा प्रस्ताव गरिएको छ ।
फिल्म सिटीको तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले मन्त्री पद जाँदाजाँदै शिलान्यास गरेका थिए । त्यस बेला फिल्म सिटी शिलान्यासमा झण्डा हल्लाउँदै पुगेका मन्त्री बस्नेतको फर्कंदा पद गुमिसकेको थियो । सरकारले फिल्म सिटीलाई प्राथमिकताका साथ लगानी सम्मेलनमा समावेस गर्नुले उत्साह थपेको अभियानकर्मी वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए ।
त्यसैगरी गौरीशंकर गाउँपालिका–९ रोल्वालिङमा प्रस्तावित साहसिक शिक्षालय ४१औं नम्बरमा समावेस गरेको छ । शिक्षालयका लागि ४ अर्ब ९५ करोड लागत अनुमान गरेको छ । तर यसको अहिलेसम्म कुनै सम्भाव्यता अध्ययन भएको छैन । रोल्वालिङका अधिकांश युवा सगरमाथा आरोही हुन् । यहाँ साना ठूला हिमचुचुरामा आरोहण अध्ययन गराउन सकिने सम्भावना छ । संसारको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पा पनि यही क्षेत्रमा पर्छ ।

३० अर्बका ६३ आयोजना समावेस
सरकारले साढे ३० खर्बका ६३ आयोजनामा लगानीका लागि आह्वान गर्ने भएको छ । लगानीमा सरकारका आयोजनातर्फ २४ खर्ब ९१ अर्ब १० करोड ३५ लाख ८० हजार तथा निजीतर्फका आयोजनाको २ खर्ब ४ अर्ब २० करोड लागत रहेको लगानी बोर्डले जनाएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनलाई लक्षित गरी परियोजना छनोट गरिएको र आगामी सम्मेलनमा प्रस्तुत गर्ने जानकारी दिए ।
सम्मेलनमा ५० भन्दा बढी देशका लगानीकर्ता, विकास साझेदार, सरकारी प्रतिनिधि, विज्ञ र सरोकारवाला सहभागी सम्मेलनका लागि प्रारम्भिक अध्ययन भएका आयोजनादेखि विस्तृत आयोजना प्रतिवेदन तयार भएका आयोजना पनि छन् ।
विदेशी लगानीका लागि प्रस्तावित गरिएका आयोजनामा सबैभन्दा कम ३४ अर्ब ५४ करोडदेखि ३ खर्ब ६९ अर्बसम्मका परियोजना छन् । सबैभन्दा कम एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी अत्तरियाको लागत ३४ करोड ५४ लाख छ भने सबैभन्दा बढीकाठमाडौँ–पोखरा–लुम्बिनी विद्युतीय रेलको ३ खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ छ । बोर्डले प्रदेश र समग्र क्षेत्रलाई समेटेर आयोजनाअघि बढाएको छ । सबैभन्दा बढी परियोजना सरकारी र निजी गरी १८ जलविद्युत् आयोजना छन् । बैठकमा प्रधानमन्त्री ओलीले लगानी प्रवद्र्धक गर्ने उद्देश्यले आयोजना गरिउको सम्मेलन सफल पार्न सबै निकायलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्