प्रधानसेनापति र रक्षा सचिवद्वारा द्रुतमार्गको निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षासचिव किरणराज शर्माले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
मख्खुबेंसी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित वेसक्याम्प र सडक खण्डहरूको कार्य प्रगतिबारे दुवैले स्थलगत जानकारी लिएको नेपाली सेनाले प्रेस विज्ञप्तिमा जनाएको छ ।
निर्धारित समयमा नसकिने तथा लागत पनि बढ्ने चर्चाका बीच निर्माणाधीन महादेवटार (प्याकेज–१) र लेनडाँडा–धेद्रे (प्याकेज–२) सुरुङमार्गको ठेक्का सम्झौताबमोजिम लागत र समय सीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न शर्माले निर्देशन दिएका छन् ।
सुरुङमार्ग समयमै पूरा गर्न अधिकतम जनशक्ति र मेसिन परिचालन गरी आवश्यकता अनुसार दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन पनि उनले निर्माण व्यवसायी, परामर्शदाता र आयोजनाका अधिकारीलाई निर्देशन दिएका छन् ।
यसैगरी, रक्षासचिव शर्माले योजना तर्जुमा, सार्वजनिक खरिद प्रक्रिया, निर्माण, अनुगमन एवं परीक्षण आदि कार्य गर्दा आर्थिक ऐन नियमको परिधिभित्र रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता एवं अभ्यासलाई समेत आधार मान्न निर्देशन दिए । नेपाली सेनाले सार्वजनिक लेखा समितिलगायत प्रतिनिधिसभाका विभिन्न समितिका निर्देशन नटेरेको सार्वजनिक भइरहँदा रक्षा सचिवले उक्त निर्देशन दिएका हुन् ।
आयोजनाका लागि थप जग्गा प्राप्तिको निमित्त अतिरिक्त वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)मा आएका समस्या र चुनौतीबारे सेनापति शर्माले छलफल गरेर जानकारी लिएका छन् ।
विवादबीच २०७३÷०७४ देखि काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । काठमाडौं–निजगढ जोडिने ७२.५ किलोमिटर लम्बाइको दु्रतमार्ग आयोजनाको हालसम्मको १६.९० प्रतिशत भौतिक प्रगति तथा १५.३१ प्रतिशत वित्तीय प्रगति रहेको नेपाली सेनाले जनाएको छ । आयोजनाको पछिल्लो संशोधित तालिका अनुसार २०८१ सम्ममा सबै काम सकिने पनि सेनाले दाबी गरेको छ ।