Logo

स्थानीय आयोजना अलपत्र

ओखलढुंगा-सिद्धिचरण नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित पेल्ट्रिक सेटका आयोजना अलपत्र परेका छन् । विद्युत् उत्पादनका लागि स्थानीयस्तरमा सञ्चालन गरिएका पेल्ट्रिक सेटका आयोजना संरक्षणको अभावमा अलपत्र परेका हुन् । स्थानीय खोलाहरूबाट विद्युत् उत्पादनका लागि सञ्चालनमा ल्याइएका आयोजना संरक्षण र प्रयोगमा नआउँदा जीर्ण अवस्थामा अलपत्र परेका हुन् ।
सिद्धिचरण नगरपालिकाको वडा नं. ३ मा यसअघि चार आयोजना सञ्चालनमा थिए । तीमध्ये तीनवटा पेल्ट्रिक सेटका आयोजना बन्द भएका छन्, भने एक जेनेतेन सञ्चालनमा छ । स्थानीयको बेवास्ता र केन्द्रीय विद्युत् आयोजना पुगेपछि ती आयोजनामा कसैको ध्यान जान नसकेको हो । उपभोक्ताको स्रोत साझेदारी र राज्यको लाखौं लगानीमा निर्माण भएका ती आयोजना संरक्षण उपयोग नहुँदा बन्द भएका हुन् ।
त्यस्तै नगरपालिकाको वडा नम्बर ९ ज्यामिरेमा सञ्चालित तीनमध्ये दुईवटा बन्द छन् । एउटामात्रै सञ्चालनमा छ । ज्यामिरेमा पनि केन्द्रीय विद्युत् आयोजना संचालन हुने भएपछि स्थानीय सरकार र उपभोक्ताको समेत ध्यान साना पेल्ट्रिक सेटमा पुग्नसकेको छैन । वडा नम्बर ५ को चुप्लुमा २०६६ सालबाट सञ्चालित पेल्ट्रिक सेट जीर्ण अवस्थामा छ । पहिले रेडक्रस तथा स्थानीय उपभोक्ता समेतको गरी कुल ३८ लाखको लागतमा ३ किलोवाट क्षमताको विद्युत् उत्पादन गरेर १ सय ६२ घरधुरीले उपभोग गर्दै आएका थिए । अहिले उत्पादन र उपभोक्ता घटेर ४५ घरधुरीले मात्रै उपभोग गर्दै आएका छन् ।
गाउँगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् जोडिन थालेपछि पेल्ट्रिक सेट धमाधम बन्द भएको सिद्धिचरण नगरपालिका–३ केराउस्वाँराका पर्शुराम भुजेलले बताए । उनले संरक्षणको अभावमा सेट अलपत्र परेकोसमेत बताए । वडा नं. ३ मा २ देखि पाँच किलोवाट क्षमतासम्मका आयोजना सञ्चालनमा थिए । ती आयोजना गाउँमा बिजुली बाल्न, टीभी हेर्न साना कुटानी पिसानी मिल चलाउन प्रयोग हुँदै आए पनि अहिले घरघरै सोलार र केन्द्रीय विद्युत् आयोजनासमेत पुग्न थालेपछि साना आयोजना बन्द भएका हुन् ।
सरकारी र स्थानीयको लगानीमा चलेका लाखौंका ती योजना सञ्चालन नहुने भए स्थानीय सरकारले व्यवस्थापन वा सामग्री लिलामी गरे स्रोतको संरक्षण हुने स्थानीयको भनाइ छ । गाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि स्थानीय उत्पादन ठप्प भएको सिद्धिचरण नगरपालिका–३ का एकबल्लभ दाहालले बताए । उनले गाउँको २०६२ सालदेखि सञ्चालित पेल्ट्रिक सेटमार्फत ०७२ सालसम्म विद्युत् उपभोग गरेको बताए । विद्युत् सेवा नपुगेका विभिन्न गाउँलाई लक्षित गरी सञ्चालनमा ल्याइएका पेल्ट्रिक सेटमार्फत बत्ती बलेपछि गाउँघरमा टुकी विस्थापन भएको थियो ।
पेल्ट्रिक सेटका आयोजनामा उपभोक्ताले चासो नदिएपछि विद्युत् उत्पादन गृह (पावरहाउस), त्यसमा जडान गरिएका उपकरण, तार तथा पानी निकासीका लागि प्रयोग गरिएका पाइपलाइन छरपष्ट छन् । त्यस्ता आयोजनामा सरकारले एक किलोवाट बराबर १ लाख २५ हजार अनुदान दिने गरेको थियो । अन्य लागत उपभोक्ताले बेहोरेका थिए ।
स्थानीय उत्पादनलाई वडा तथा नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने उपभोक्ताको माग छ । वडा नं. ३ का वडा अध्यक्ष रहरमान राईले उपभोक्ताले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गर्ने भएकाले स्थानीय उत्पादनमा चासो नदिएको बताए । उनले यस विषयमा उपभोक्तासँग छलछल गर्ने बताएका छन् । नगरपालिकाले अन्य वडामा चलेर बन्द भएका र हुने अवस्थामा पुगेका योजनाको उचित व्यवस्थापन गरे सरकारी सम्पत्तिको संरक्षण हुने भए पनि चासो देखाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्