कुश्मा नगरपालिकाका सबै कच्ची सडक कालोपत्रे गरिँदै

पर्वतको कुश्मा नगरपालिकाले सबै वडाका कच्ची सडक कालोपत्रे गर्ने भएको छ ।
नगरपालिकाले सघन सहरी विकास कार्यक्रमअन्तर्गत चालू वर्ष प्राप्त गरेको ५० करोड रुपैयाँबाट कुश्माका सबै वडामा रहेका मुख्य कच्ची सडकलाई पक्कि बनाउने योजना अगाडि सारेको हो । यसका लागि कुश्मा नगरपालिकाको कटुवाचौपारी, पिपलटारी, ठूलीपोखरी, खौला र आर्थरमा पुगेर योजनाका बारेमा जनप्रतिनिधिसँंग छलफल गरेको छ ।
सडक कालोपत्रे योजना अनुरुप वडाहरूमा योजना छनोट गर्न सुरु गरिएको छ । नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने, प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङ, इन्जिनियर शिवराज बराल, जिन्सी शाखा प्रमुख बालकृष्ण शर्मासहित नगरप्रमुखको सचिवालयका कर्मचारी पुगेर वडाका प्रतिनिधिसँंग योजनाको बारेमा छलफल गरेका छन् ।
वडाका अध्यक्ष तथा सरोकारवालाले आफ्नो वडाका योजनाको टिपोट गराउनु भएको छ । नगरप्रमुख जोशीले वडाका योजनाको बारेमा छलफल गर्ने र आवश्यकताका आधारमा योजना छनोट गरी टेण्डर आह्वान गरिने बताए ।
चालू वर्ष प्राप्त भएको बजेटबाट काम सुरु गरेर बहुवर्षे योजनामा पार्ने, सडक पूरा नहुन्जेलसम्म बजेटको सुनिश्चितता गरिने बताए । सबै वडाका कच्ची सडक पक्कि बनाएपछि गाउँका बासिन्दालाई सहज हुने, गाउँको बाँझो जमिन उपयोग हुने र तीव्र बसाइँ सराइ रोकिने अपेक्षा रहेको जोशीले बताए ।
यो बजेटबाट नयाँ ट्रयाक खोल्न पाइने छैन । बस्ती भएको ठाउँ र अरु कार्यक्रममा समावेश नभएको सडक योजनामा सूचिकृत हुने जोशीले बताए । नगर उपप्रमुख सीता काफ्ले लामिछानेले वडामै पुगेर योजना छनोट गर्ने शिलशिलामा सबै वडामा पुगिने बताइन् । स्थानीयबासीको आवश्यकताका आधारमा योजना छनोट गरी कार्यक्रमलाई साझा दृष्टिकोणअनुसार अगाडि बढाउन चाहेको लामिछानेले बताइन् ।
वडाबाट आएका योजना उपर बृहत छलफल गरी निर्वाचनको आचारसंहिता लागू नहुँदै काम सुरु गर्ने सोचमा रहेको सुनाए । कुश्माबजारमा रहेका ४ वडा, पकुवा, चुवा, दुर्लुङ, खुर्कोट र पाङमा योजना छनोटको काम बाँकी छ । ती वडामा पनि योजना छनोटका लागि टोली पुग्ने कुश्मा नगरपालिकाले जनाएको छ ।