दुर्लुङमा व्यावसायिक क्यानोनिङ «

दुर्लुङमा व्यावसायिक क्यानोनिङ

पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङस्थित महभिर झरनामा साहसिक खेल क्यानोनिङ व्यावसायिक रूपमा सुरु भएको छ । साहसिक पर्यटनमा रुची राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल धौलागिरि क्षेत्रमै पहिलोपटक सञ्चालन गरिएको हो ।
११० मिटर अग्लो झरनामा विगत एक दशकको प्रयासपछि गत सातादेखि व्यावसायिक रूपमा क्यानोनिङ सुरु भएको हो । दुर्लुङ क्यानोनिङ एण्ड क्याभिङ प्रालिले झण्ढै दश लाख रुपैयाँको लागतमा यो खेल सुरु गरेको हो । घना जंगलभित्र रहेको ठूलो छहरामा क्यानोनिङ गर्न दशकअघि नै सम्भाव्यता अध्ययन गरिए पनि अहिले आएर पूरा भएको कम्पनीका अध्यक्ष उद्धिमबहादुर गुरुङले बताए । यतिबेला जाडो मौसम भए पनि यो खेलका लागि विभिन्न क्षेत्रबाट खेलाडीहरू आएको उनले जानकारी दिए ।
हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रूपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको उनको भनाइ छ । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै ७ किलोमिटरको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ । स्थानीय चनौटे गाउँमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक सुरु गरिएको गुरुङले जानकारी दिए । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेल सडकको व्यवस्था रहेको छ । कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय सहर पोखराबाट समेत साढे २ घण्टामा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्ने गुरुङको विश्वास रहेको छ ।
महभिर झरनामा क्यानोनिङ गर्दा छुट्टै आनन्द आएको पर्यटक गाइड सम्झना कार्कीले बताइन् । क्यानोनिङ एसोसिएसन अफ नेपालका गाईड दविन्द्रमान तामाङले धेरै उचाइ भएका कारण यहाँ क्यानोनिङ गर्न आउनेहरू लोभिने बताए ।
यसको उचित व्यवस्थापन र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउनका लागि प्रचार प्रसार लगायतको तयारी भइरहेको सञ्चालक गोलमान गुरुङले बताए । बेलायत र हङकङमा रहेका दुर्लुङवासीहरूको सहयोगमा यो सञ्चालन भएको हो । नियमित सुरु भएसँगै शुल्कसमेत निर्धारण गर्ने तयारी भएको छ । नेपालका लमजुङ, कास्की, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ हुँदै आएको छ ।(लक्ष्मीप्रसाद सापकोटा)

प्रतिक्रिया दिनुहोस्