अरुण तेस्रो प्रसारण लाइनका लागि २० अर्ब स्वीकृत «

अरुण तेस्रो प्रसारण लाइनका लागि २० अर्ब स्वीकृत

भारतले ९ सय मेगावाटको अरुण–३ जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न नेपालतर्फ निर्माण गर्नुपर्ने प्रसारण लाइनका लागि २० अर्ब रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षता गरेको मन्त्रिपरिषद्अन्तर्गतको अर्थ समितिले नेपालमा निर्माणाधीन अरुण तेस्रोको जलविद्युत् आयोजनाको प्रसारणलाइन निर्माणका लागि १२ अर्ब ३६ करोड १३ लाख भारु अर्थात् करिब २० अर्ब बजेट स्वीकृत गरेको हो । १२ फेब्रुअरी २०१९ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले अरुण तेस्रोका लागि प्रसारणलाइन निर्माणका लागि अनुमतिपत्र (लाइसेन्स) दिएकोमा त्यसपछि दुई साताभित्रै भारतीय सरकारले प्रसारण लाइनका लागि बजेट स्वीकृत गरेको हो ।
आयोजनाको संखुवासभाको दिदिङस्थित विद्युत्गृहदेखि भारतीय सिमाना ढल्केबरसम्म २ सय १७ किमि प्रसारणलाइन निर्माण गर्नुपर्नेछ । ४ सय केभीको सो प्रसारणलाइन ढल्केबरबाट भारतीय लाइनसँग जोडिनेछ भने यहाँबाट अरुण–३ को विद्युत् भारत निर्यात हुनेछ । करिब ४ सय जनाले रोजगारी पाउने सो आयोजना निर्माण सम्पन्न भएपछि नेपालले २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउनेछ । जलविद्युत् आयोजनाका लागि मात्र १ खर्ब रुपैयाँ बराबरको लगानी हुँदैछ ।
आयोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्ने गरी सन् २००८ खुल्ला प्रतिष्पर्धामार्फत भारतीय कम्पनी सतलज निगमले लाइसेन्स लिएको आयोजनाको सन् २०१४ नोभेम्बरमा लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
अरुण तेस्रो जलविद्युत् आयोजनाले निर्माणकार्य भने सुरु गरिसकेको छ । आयोजनाले वित्तीय व्यवस्थापन गर्न भने बाँकी छ । आयोजना निर्माणका लागि भारतीय सरकारले बजेट स्वीकृत गसिके पनि प्रसारण लाइनको लाइसेन्समा ढिला हुँदा आयोजनाको वित्तीय व्यवस्थापन नभएको आयोजनाको तीन महिनाभित्र वित्तीय व्यवस्थापन गरिसक्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्