सही अवस्थाको गाडी बिक्री गर्नूस् : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालालाई सचेत गराएकी छन् ।
शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडि गुडाउने गरेका कारण दुर्घटना हुने गरेको बताइन् । सडकमा गुड्ने गाडीको समयमा मर्मतसंभार गर्ने हो भने पनि दुर्घटना धेरै घट्ने मन्त्री यादवले बताइन् ।
रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी बिक्री, वितरण गर्न र सञ्चालन गर्न सचेत गराइन् । उनले रिकन्डिसन अटो व्यवसायीलाई आफूले कस्तो अवस्थाको गाडी खरिद तथा बिक्री गरिरहेको छु भन्ने तर्फ ध्यान दिन आग्रह गरिन् ।
मन्त्री यादवले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराइन् । उनले भनिन्, “तपाईंहरू आफ्नो कम्पनीमा गाडी ल्याउँदा ध्यान दिनुपर्छ, जथाभावी गाडी ल्याएर बिक्री गर्ने होइन ।
वान ह्यान्ड्स गाडी चलाएको, ट्याक्सीमा चलाएको, भाडामा चलाएको, जर्जर अवस्थाको यसलाई क्याटेगोरिज् गरेर गाडीलाई पनि ध्यान राख्नुपर्छ । त्यो गाडीको कन्डिसनको कारणले दुर्घटना नहोस् । तीन कारणले दुर्घटना हुने गरेको छ । ट्राफिकको कारणले, कन्डिसन नभएको कारणले र राम्रो चालक नभएको कारणले । यी कुरा एक अर्काका पुरक छन् ।
तर त्यसमा गाडीको दोष हुनु हुदैँन ।”
उनले रिकन्डिसन अटो व्यवसायी काठमाडौं उपत्यका बाहिरका ठूला शहरमा पनि लैजान सके सर्वसाधारणले सुविधा लिनसक्ने धारणा व्यक्त गरिन् । व्यवसायीलाई प्रोत्साहन गर्न सरकार तयार रहेको भन्दै उनले व्यवसायीलाई छलफलमा आउन पनि आग्रह गरिन् ।