क्रिकेट रंगशाला बनाउन खुत्रुके महाअभियान

महोत्तरी-धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खुत्रुके महाअभियान सुरु भएको छ ।
नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश नं २ ले रंगशाला निर्माणमा सहयोग गर्न खुत्रुके महाअभियान सुरु गरिएको महासंघका अध्यक्ष हिरा गौतमले जानकारी दिए । होटलमा सेवा लिन आउने जो कोहीले सहयोग गर्नसक्ने गरी प्रदेश नं २ का ८ वटै जिल्लाका ५ सय होटलको काउन्टरमा खुत्रुके राखिने र होटलको काउन्टरमा राखिएको खुत्रुकेमा जम्मा भएको रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिने गौतमले बताए ।
खुत्रुके महाअभियान घोषणा कार्यक्रममा सहभागी फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुसले) आफूहरूले अन्तिम पटक सहयोगका लागि हात फैलाएको भन्दै देश विदेशमा बस्ने सबैसँग सहयोगका लागि अपिल गरे । कट्टेलले भने, “यो तपाँई हामी सबैको अभियान हो ।” अन्तर्राष्ट्रिय रंगशाला बनिसकेपछि रंगशालाकै आम्दानीबाट फाउण्डेसनले देश विकास गर्दै समाजसेवा गर्नेछ, अहिलेलाई हामी ३ करोड नेपालीको सहयोग अन्तिम पटक मागिरहेका छौं ।
महोत्तरीको बर्दिवासमा अत्यन्तै विपन्न, दलित तथा पिछडिएको बस्तीलाई फाउण्डेसनले एकीकृत नमुना मुसहर बस्ती बनाएको छ । सोही बस्तीका अध्यक्ष बिल्टु सदा र मंजय सदाले समेत रंगशाला बनाउन सहयोग स्वरुप सिताराम कट्टेल (धुर्मुस) लाई ५-५ हजार रुपैयाँ हस्तानातरण गरेका छन् । धुर्मुस–सुन्तलीले बस्ती बनाइदिएपछि जीवनले नयाँ रुप लिएको बताउँदै आम्दानी बढेपछि सहयोग गर्ने इच्छा जागेको बिल्टु सदाले प्रतिक्रिया दिए ।
खुत्रुके महाअभियानको घोषणा सभामै प्रदेश नं २ का होटल व्यवसायी तथा व्यापारीले रंगशाला निर्माणका लागि २२ लाख ४० हजार ५ सय रकम फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलाई हस्तान्तरण गरेका छन् ।
२० बिघा ६ कठ्ठा जग्गामा बन्ने रंगशालाको अहिले डिजाइनको काम भइरहेको र अहिलेसम्म रंगशाला निर्माणका लागि साढे पाँच करोडभन्दा बढी सहयोग प्राप्त भइसकेको धुर्मुसले बताए ।