सूर्य नेपाल गल्फ च्याम्पियनसिप उपाधि राहुलले जिते

काठमाडौं– एमेच्योर गल्फर राहुल विश्वकर्मा सूर्य नेपाल गल्फ टुर २०२४/२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि विजेता बनेका छन् । विश्वकर्माले २१ अन्डर दुई सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई दुई स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन् ।
राहुलले बिहीबार फाइभ अन्डर ६७ को स्कोर गरे । राहुलले यो सिजनको दोस्रो उपाधि जितेका हुन् । यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए । १९ अन्डर दुई सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । प्रोतर्फ पहिलो भएका उनले नगद तीन लाख प्राप्त गरे ।
यस्तै, एमेच्योर सदभाव आचार्य तेस्रो भए । साविक विजेता सुवास तामाङ १५ अन्डर दुई सय ७३ सहित चौथो भए । चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो । विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन –एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।