Logo

सडक निर्माणको काम अन्तिम चरणमा

बाराको विशेष आर्थिक क्षेत्र (सेज) भित्रको सडक संजाल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्पेसल गार्मेन्ट प्रोसेसिङ जोन निर्माण गर्ने नीति अनुरुप हाल ब्लक ‘ए’ को कुल ३ सय ४२ बिघा क्षेत्रफलमध्ये एक सय ६० बिघा क्षेत्रमा आन्तरिक सडक संजालको काम अन्तिम चरणमा पुगेको हो ।
माघ मसान्तसम्म अवधि रहे पनि ‘ए’ ब्लक भित्र पूर्वाधार निर्माण गर्ने क्रममा ८३ प्रतिशत सडक संजाल र नालाको काम सम्पन्न भएको हो । ब्लक ‘ए’ मा ३९ फिटे मुख्य र २८ फिटको शाखा सडक निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । करिब दुई अर्बको लागतमा निर्माण हुने प्रशासनिक तथा सेवा भवनको कामले समेत तीव्रता पाएको छ । सेवा भवनमा बिमा, बैंक, भन्सार, खानेपानी ट्यांकीजस्ता सेवालाई एकीकृत गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो ।
३५ प्रतिशत काम सम्पन्न भएको भवन निर्माणको अवधि आगामी असोज मसान्तसम्म रहेको कार्यालयले जनाएको छ । अबको करिब एक वर्षभित्र ब्लक ‘ए’ को काम सम्पन्न गरी इच्छुक उद्योगीलाई उद्योग स्थापनाका लागि अपिल गर्न सकिने इन्जिनियर दिनेश न्यौपानेले बताए । ब्लक ‘ए’ सँगसँगै ब्लक ‘बी’ र ‘सी’ को डीपीआर तयार भई पर्खाल लगाउने काम सुरु भएको छ भने डी र ‘ई’ को डीपीआर गर्ने तयारी भइरहेको छ ।
पहिलो चरणअन्तर्गत आठ सय ३३ बिघा क्षेत्रफलमा साना मझौला तथा ठूला गरी एक हजार दुई सय उद्योग स्थापना गर्ने लक्ष्य छ । यस वर्ष विशेष आर्थिक क्षेत्र सेजका लागि ८४ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । सेजलाई छिटो स्थापित गर्न सके वैदेशिक वस्तु आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर गराउनुका साथै बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्