चुनढुंगा उत्खननमा रोक

सिमेन्ट उद्योगले उत्खखन गर्दै आएको चुन ढुंगा उत्खननमा रोक लगाइएको छ । जिल्लाको बंगलाचुली गाउँपालिकाले बिहीबारदेखि चुनढुंगा उत्खननमा रोक लगाएको हो । गाउँपालिका क्षेत्र भित्रबाट अबदेखि सिमेन्ट उद्योगलाई चुनढुंगा उत्खनन गर्न नदिने सर्वदलीय सर्वपक्षीय भेलाले निर्णय गरेको छ ।
गाउँपालिकाको कार्यालय कमिरेचौरमा बसेको सर्वपक्षीय बैठकले घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले गर्दै आएको चुनढुंगा उत्खनन गर्न नदिने निर्णय गरेको हो । उक्त निर्णयसँगै बिहीबारदेखि नै बंगलाचुली क्षेत्रबाट चुनढुंगा उत्खनन तथा ढुवानी कार्य रोकिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । तीनवटा सिमेन्ट उद्योगले बंगलाचुली क्षेत्रबाट सिमेन्ट निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुंगा उत्खनन तथा ढुवानी गर्दै आइरहेका थिए ।
चुनढुंगा उत्खननले वातावरणमा नकारात्मक प्रभाव परेको, सर्वसाधारणको सामान्य जनजीवन प्रभावित बन्दै जान थालेको हुँदा उत्खनन तथा ढुवानी रोक्ने निर्णय गर्नुपरेको अध्यक्ष वलीले बताए ।
बंगलाचुली गाउँपालिकाबाट सिमेन्ट उद्योगमा चुन ढुंगा ढुवानी गर्न दैनिक सयौं टिपर सञ्चालन गरिँदै आएको र त्यसले गर्दा एकाध महिना मै कालोपत्रे सडक जीर्ण बनिसकेको अध्यक्ष वलीले बताए । “महिना दिनमै कालोपत्रे घोराही–मुर्कुटी–प्युठान सडक खण्ड जीर्ण भइसकेको छ,” अध्यक्ष वलीले भने, “धुलोले पैदल हिँड्नै मुस्किल पर्छ, विद्यालय जाने केटाकेटीले सास्ती खेप्नु परेको छ ।”
सडक आसपासका सर्वसाधारण नागरिक, विद्यालयमा अध्ययनरत विद्यार्थी निकै प्रभावित बनेको हुँदा गाउँपालिका क्षेत्रबाट चुनढुंगा उत्खनन र ढुवानी बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए । “मनपरि चुनढुंगा उत्खननले पानीका मुहान सुक्न थालेका छन्,” उनले भने, “पशु चौपायाले खाने घाँस, सडक आसपासमा रहेका बस्तीका जमिनमा लगाएको सागपात खान योग्न हुँदैन ।
अब स्थानीय कसरी बाँच्ने ?” उत्खननले सुन्दर शान्त पहाडी जनजीवन बिथोलिएको, वातावरण प्रदूषित बन्दै गएको तथा दैनिक ओहोरदोहोर गर्ने सयौं टिपरका कारण सर्वसाधारण आजित बनेको उनले बताए । सिमेन्ट उद्योगले नागरिकको स्वच्छ र शान्त वातावरणमा बाँच्न पाउने अधिकारमाथि बारम्बार खेलबाड तथा बेवास्ता गरेको अध्यक्ष वलीले आरोप छ ।
खानी प्रभावित क्षेत्रका नागरिक, बंगलाचुली गाउँपालिका र जिल्ला प्रशासन कार्यालयका बीचमा विभिन्न समयमा भए गरेका सम्झौता कार्यान्वयन गर्न उद्योगले कुनै चासो नदेखाएको सर्वसाधारणले बताउँदै आएका छन् ।
गाउँपालिकामा भएको सर्वपक्षीय भेलाले समेत उद्योगले विभिन्न समयमा गरेका सम्झौता र निर्णयको कार्यान्वयन गर्न तथा वातावरण प्रदूषण न्यूनीकरण गर्न चासो नदेखाएको उल्लेख छ ।
जिल्लामा सञ्चालनमा रहेकामध्ये सोना सिमेन्ट, सगरमाथा सिमेन्ट बस्ती बीचमा रहेको हुँदा सुरूदेखि नै ती उद्योग स्थानान्तरणको माग हुँदै आएको छ । उद्योगले धुँवा, धुलो र ध्वनी प्रदूषण नियन्त्रण गर्ने आवश्यक यन्त्र जडान नगर्दा स्थानीय सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको स्थानीयले बताउँदै आएका छन् । सर्वपक्षीय बैठकमा सबै वडाका वडाध्यक्ष, कर्मचारी, बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र उद्योग प्रभावित स्थानीयको सहभागिता रहेको थियो ।