ठूला परियोजना नबने स्टिल उद्योग धराशायी

समग्रमा अहिले नेपालको स्टिल बजार कस्तो छ ?
पछिल्लो ५-६ महिनायता नेपालको स्टिल बजार खस्किँदो अवस्थामा रहेको छ । जुन रूपमा सरकारले परियोजना विस्तार गर्ने अपेक्षा गरिएको थियो त्यो हुन नसक्दा स्टिललगायत निर्माणजन्य सामानको बजार विस्तार हुन सकेको छैन । त्यस्तै स्थानिय तहहरूले समेत कानुनी अस्पष्टतालगायत कारणले सोचे अनुरूप काम गर्न सकिरहेको देखिँदैन । भूकम्पपछि एउटा लेवलमा बजार विस्तार भएको थियो । त्यो एक पटकका लागि हो । भुकम्पमा भत्किएका संरचनाहरू पुनर्निर्माण गर्ने काम धेरै अघि बढी सकेकाले अबको बजार भनेको ठूला परियोजनाहरू नै हो । जुन अपेक्षा अनुरुप विस्तार हुन सकेको छैन । त्यसैले समग्रमा भन्नु पर्दा बजार अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । विद्युत्को उपलब्धताले स्टिल मिलहरूले पूर्ण क्षमतामा उत्पादन गरिरहे पनि त्यही अनुपातमा खपत भने हुन सकेको छैन ।
भूकम्पपछिको पुनर्निर्माणको काम सकिसकेको छैन । अन्य परियोजनाहरू पनि बन्ने क्रममा रहेको देखिन्छ । तपाईंले भन्नुभए जस्तो बजार खस्किसके कै हो ?
यसमा दुइटा फ्क्टर छ । एउटा बत्तीका कारण ८ घण्टा चल्ने मिल अहिले १६ घण्टा चलिरहेको छ जसका कारण मिलहरूले पूर्ण क्षमतामा उत्पादन गरिरहेका छन् । अर्को नयाँ मिलहरू आउने क्रममा छ । गत वर्षको भन्दा यो वर्षको मागसमेत गिरावट आएको छ । भूकम्प पछिको जस्तै माग पक्कै हुँदैन । तर, सरकारले भएका परियोजनाहरू बनाउन नसक्दा नयाँ उद्योगका साथै पुराना उद्योगहरू पनि समस्या आउने हो कि भन्ने आँकलन गरिएको छ । ब्याजदरलगायतका कारण पनि उद्योगहरू ब्याज तिर्न नसक्ने अवस्था आउन सक्छ अबको केही महिनामा ।
देश संघीयतामा गएपछि र राजनीतिक स्थिरता आएपछि विकासको अपेक्षा जुन गतिमा हुने आशा गरिएको थियो त्यो हुन नसकेको हो ?
त्यो पक्कै हो । प्रदेश राजधानी कहाँ हुने, स्थानिय तहको भवन निर्माण लगायत काम हुन सकिरहेको छैन । लगानी र उद्योग तत्काल त आइहाल्ने होइन । त्यसका लागि ३ देखि ५ वर्षसम्म लाग्छ । अहिले ४-५ वटा नयाँ उद्योग खुलेका छन् । यस्ता उद्योगहरू भुकम्प आउनु पूर्वनै खुल्ने योजनामा थिए । देशमा स्थायित्व आउने र विकास निर्माणले गति लिने अपेक्षा सहित उद्योगहरू खुलेका हुन् । अहिले नेपालका ७ वटा ठूला र १३ वटा मझौला खालका स्टिल उद्योग छन् ।
नयाँ उद्योगहरू खुल्ने क्रम रहेकाले स्टिलको क्षेत्रमा प्रतिस्पर्धा पनि बढेको होला नि । प्रतिस्पर्धा अस्वस्थ्य हुने अवस्था आएको छैन ?
स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्छ । अहिले नयाँ–नयाँ उद्योगहरूले नयाँ प्रविधिमा उद्योग खोलेकाले त्यहीअनुरूप मूल्य निर्धारण गर्दै आएका छन् । मूल्य निर्धारणका लागि डन्डी बनाउन प्रयोग भएका कच्च पदार्थको गुणस्तरको कुरा पनि आउँछ । त्यसले पनि उत्पादनको मूल्य निर्धारणमा प्रभाव पार्छ ।
प्रिमियर स्टिल अन्यभन्दा के मानेमा फरक छ ?
हामीले ल्याउने कच्च पदार्थ निक्कै गुणस्तरिय छ । भारतबाट कच्च पदार्थ ल्याउने हो । हामीले ल्याउने कच्च पदार्च भारतमा पनि जापानी प्रविधिमा आधारित छ । हाम्रो उद्योगले दैनिक ८ सय टनसम्म उत्पादन गर्न सक्छ । यस्तो मेसिन नेपालमा अहिले नयाँ खुलेकाले ल्याएको भएमात्र नत्र भए प्रिमियसँग मात्र छ । ब्लेड हालेपछि त्यसबाट सिधै डन्डी बनेर निस्कने मिल हामीसँग छ ।
उत्पादित सामग्री परीक्षणका लागि हामीसँग दुइटा ल्याब छ । एउटा मेकालिक र केमिकल ल्याब छ । यो प्रविधिबाट हामीले नियमित रूपमा परीक्षण गर्दै आएका छन् । पछिल्लो दुई महिनायता हामीले राम्रो बजार हिस्सा लिएका छौं । प्रिमियर स्टिलले परियोजनाका साथै कमन प्रयोगमा समेत प्रयोग गर्न सकिन्छ ।