Logo

‘देश समृद्ध बनाउन निर्माण क्षेत्रको भूमिका अपरिहार्य’

महिला, बालबालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले घोषणा गरेको समृद्ध मुलुक बनाउन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएकी छन् ।
देश विकासमा महत्वपूर्ण योगदान दिने निर्माण व्यवसाय क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार सधैं तत्पर रहेको समेत मन्त्री थापाले बताइन् । राजधानीमा नेपाल निर्माण व्यवसायी महासंघअन्तर्गत रहेका निर्माण व्यवसायी महिला सदस्यको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले निर्माण व्यवसायको विकासका लागि प्रतिबद्धता व्यक्त गरेकी हुन् । वर्तमान संविधानले नै हरेक क्षेत्रमा महिला प्रतिनिधित्व सुनिश्चित गरेको अवस्थामा निर्माण व्यवसाय क्षेत्रमा पनि महिलाको उचित सहभागिता हुनुपर्ने मन्त्री थापाको भनाइ थियो ।
“निर्माण व्यवसाय क्षेत्रलाई अझ भरपर्दो तथा विश्वासिलो बनाउन तपार्इंहरू ठोस योजनासहित आउनुहोस्, सरकार सहयोग गर्न तयार छ,” मन्त्री थापाले भनिन् । सरकारले हालै घोषणा गरेका कार्यक्रम सबै व्यवसायीको पक्षमा रहेको भन्दै थापाले आफ्नो घोषणा पूरा गर्न सरकार तयार रहेको पनि बताइन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महिला निर्माण व्यवसायीका लागि सरकारले ऋण तथा औजारमा विशेष छुटको घोषणा गर्नुपर्ने बताए । महिला निर्माण व्यवसायीलाई सक्षम बनाउने पहिलो दायित्व राज्यकै भएको अध्यक्ष सिंहको भनाइ थियो । निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक सरस्वती कार्कीले व्यवसायीमैत्री ऐन कानुन अभाव, भुक्तानी समस्या, चन्दा आतंकलगायतका समस्याले निर्माण व्यवसाय क्षेत्र आक्रान्त भएको बताइन् । दिनरात नभनी घरवार सम्हाल्दै चुनौतीपूर्ण पेशामा लागेका महिला निर्माण व्यवसायी पेशाबाट विस्थापित हुने खतरा सिर्जना भएको कार्कीको भनाइ थियो ।
महासंघका पूर्वअध्यक्षहरू जयराम लामिछाने र यक्षध्वज कार्कीले सरकारी नीति अत्यन्त अव्यावहारिक भएकाले निर्माण व्यवसाय क्षेत्रमा ठूलो समस्या परेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले सीमित स्रोत साधन तथा अवसरका बावजुद महिला निर्माण व्यवसायीको भूमिका प्रशंसनीय रहेको बताए । महासंघका महासचिव रोेशन दाहालले महिला निर्माण व्यवसायीलाई अझ व्यावसायिक तथा दक्ष बनाउन वर्तमान कार्य समिति क्रियाशील रहेको दाबी गरे । महासंघ केन्द्रीय सदस्य मोहनकुमारी कालिकोटेले महासंघमा महिलाको प्रतिनिधित्व बढाउन ध्यानाकर्षण गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्