सडक विस्तार गर्न सयौं घर भत्काउनुपर्ने «

सडक विस्तार गर्न सयौं घर भत्काउनुपर्ने

हेटौंडाको मुख्य सडक १६ मिटर फराकिलो बनाइने

प्रदेश नम्बर ३ सरकारले प्रदेश राजधानी हेटौंडाको मुख्य सडकलाई १६ मिटर चौडा गर्न केन्द्र सरकारलाई प्रस्ताव गरेको छ । राष्ट्रिय राजमार्गमा २५ मिटर विस्तार गर्ने चर्चा चलिरहेको बेला प्रदेश सरकारले भने १६ मिटर विस्तार गर्ने योजना बनाएको हो ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हेटौंडाको मुख्य बजारको राजमार्गको सडक १६ मिटर फराकिलो बनाइने र बाइपास सडकको विस्तार गरी राष्ट्रिय राजमार्गसँग जोड्ने योजना बनाएको हो । प्रदेश सरकारको सिफारिस केन्द्र सरकारले स्वीकृत गरेमा हेटौंडा बजार क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडक विस्तारको काम सुरु हुनेछ । सडक विस्तारको क्रममा सयौं घर भत्कनेछन् । यसअघि नै २५ मिटर फराकिलो बनाउन सरकारी तहबाट पटकपटक प्रयास भए पनि स्थानीय अवरोध र अदालतको आदेशपछि रोकिएको थियो ।
हेटौंडाको मुख्य बजार क्षेत्रलाई सहरी सडकको रूपमा विकास गरेर ४ लेनको सडक निर्माण गर्ने, त्यसमा ग्रिन बेल्ट निर्माण गर्ने, फुटपाथ निर्माण गर्ने, सर्भिस ट्रयाक निर्माण गर्ने प्रदेश सरकारले योजना बनाएको छ । बाइपास सडक निर्माणका लागि ३ नम्बर प्रदेश सरकारले चालू आवमा पाँच करोड रुपैयाँ छुट्याएको छ । यो रकमबाट खर्च गर्ने गरी डीपीआर बनाउने काम अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार विकाश मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले बहुप्राविधिक महाविद्यालय स्थापना गर्नका लागि जग्गा प्राप्तिका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । सिन्धुपाल्चोकको चौतारामा बहुप्राविधिक महाविद्यालय निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउन केन्द्र सरकारसँग माग गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । त्यसैगरी प्रदेशको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने सम्बन्धमा पनि निर्णय भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्